| आइतवार, कार्तिक २२, २०८३

स्वाब थुप्रिँदा पिसिआर रिपोर्ट आउन ढिलाई क्वारेन्टिनमा खर्च बढ्यो

दरौँदी समाचारदाताः गोरखामा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । पिसिआरका लागि छ सय छ जनाको स्वाब संकलन गरिएको मध्ये दुई सय ५२ जनाको नेगेटिभ, १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीन सय सय भन्दाबढिको स्वाब जाँच हुन सकेको छैन । क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरेरगण्डकी प्रदेशको प्रयोगशाला पठाइन्छ ।

भारतबाट गोरखा भित्रिएका नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राखेका छन् । पिसिआर जाँच पछि मात्रै नेगेटिभ रिपोर्ट आएकालाई घर पठाउने र पोजेटिभ देखिएकालाई आईसोलेसनमा राखेर उपचार गरिन्छ । गोरखा नगरपालिका भित्र १५ जनाको पिसिआर गरेको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएको भए उनीहरु जेठ २४ गते घर जान पाउँथे तर अहिले पनि क्वारेन्टिनमा रहेको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए । शहिदलखन गाउँपालिका ७ बुङकोटमा १७ दिनदेखि १० जना र बिभिन्न मितिमा आएका अन्य गरी २० जना क्वारेन्टिनमा छन् । पिसिआर रिपोर्ट नआउँदा उनीहरु अन्यौलमा रहेको र बारम्बार रिपोर्ट कहिले आउँछ भनेर सोध्ने गरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । यो समस्या जिल्लाका अधिकासं स्थानीय तहमा छ । जिल्लाभर चार सय ७४ जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन् भने तीन सय १५ जना क्वारेन्टिनबाट घर फर्किएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए ।

१४ दिन क्वारेन्टिमा राख्ने र उक्त समयमा पिसिआर चेकजाँच गरेर नेगेटिभ रिर्पोट आएमा घर पठाउने गरिन्छ । तीन साता सम्म रिपोर्ट नआउँदा भारतबाट आएकाहरु पालिकाको क्वारेन्टिनमा बसिरहेका छन् । केही दिन स्वाब नपठाउनु भन्ने जानकारी आएको छ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘रिपोर्ट ढिलो आउँदा क्वारेन्टिनमा संख्या बढेको, खर्च धेरै भएको छ ।’ पोजेटिभ देखिएकालाई राम्रो सँग उपचार गर्न र नेगेटिभ देखिएकालाई घर पठाउन सहज हुने भन्दै छिट्टै रिपोर्ट आउने ब्यवस्था मिलाउँदा खर्च घट्ने उनले बताए । क्वारेन्टिनमा बस्नेहरु थपिँदै गएको स्वाब संकलन भने रोकिँदा क्वारेन्टिन ब्यवस्थानमा पालिकाको खर्च ह्वातै बढेको छ ।
स्वास्थ्य कार्यालय गोरखाकी प्रमुख विद्या तामाङले मेसिनको क्षमता भन्दा धेरै स्वाब जम्मा भएकाले केही दिन ‘होल्ड’ गर्न भनेको      बताईन । ‘सबैतिरबाट स्वाब गएको छ, धेरै हुँदा रिपोर्ट आउन ढिलो भएको हो’ उनले भनिन् । बुधवार पनि भिमसेन थापा, गण्डकी गाउँपालिका, शहिदलखन गाउँपालिकामा स्वाब संकलन भईसकेको कार्यालयले जनाएको छ । जिल्लाभर हाल सम्म एक हजार ८९ जनाको आरडिटिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्