| आइतवार, कार्तिक २२, २०८३

अजीरकोटमा पारिवारिक वातावरणको क्वारेण्टाइन

क्वारेण्टाइनमा रहेकाकालाई पारिवारिक माया ममता र स्याहार सम्भारमा थप टेवा पुगोस् भन्ने उद्देश्यले गोरखाको अजीरकोट गाउँपालिकाले घरपायकमा सामुहिक क्वारेण्टाइन बनाएको छ ।

घरपायक पर्ने ठाउँमा क्वारेण्टाइन बनाउँदा त्यहाँ बस्नेले पारिवारिक वातावरण पाउने र प्रत्यक्ष रेखदेख हुने गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिए ।

‘बिभिन्न ठाउँमा क्वारेण्टाइनमा बस्नेलाई हेयको दृष्टिले हेरिएको, छिछि दुरदुर गरेको घटना सुनियो । हाम्रो गाउँपालिकामाचाहिँ त्यस्तो नहोओस् भनेर सबैलाई घरपायकमा क्वारेण्टाइन बनाउने निर्णय गरियो’, उनले भने, ‘अहिले त क्वारेण्टाइनमा बस्ने जम्मा आठ जना मात्र छन् । उनीहरु भच्चेकको क्वारेण्टाइनमा बसेका छन् । अब भारतबाट चारसय जना गाउँ आउन चाहेका छन् । उनीहरु आएपछि घर आसपासकै क्वारेण्टाइनमा राख्छौं । घरबाटै खानाको व्यवस्था गराउने व्यवस्था मिलाउँछौं ।’ घरका मान्छेले माया ममतापुर्वक दिएको खानाले उनीहरुमा शारीरिक, मानसिक रुपमा लाभ दिने उनले बताए ।

मास क्वारेण्टाइनमा ५०, ६० जना एकै ठाउँमा राख्दा स्याहार पनि नपुग्ने, संक्रमणको जोखिम पनि बढ्ने सम्भावना हुनाले यस्तो निर्णय गरेको उनले बताए । साथै प्रत्येक टोलमा क्वारेण्टाइन बनाएपछि अर्को गाउँका मान्छे नराख्ने, क्वारेण्टाइनस्थल बनाउन नदिने लगायतका बिबाद बढ्न थालेपछि यो उपाय अपनाइएको उनले बताए ।

‘क्वारेण्टाइनमा बस्नेलाई खाना र लुगाकपडा घरकै मान्छेले दिन्छन् । स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको सेवा गाउँपालिकाले दिन्छ, अध्यक्ष धितालले भने, ‘यसो गर्दा गाउँपालिकालाई पनि धेरै आर्थिक भार पर्दैन । टाढाका मान्छेलाई राख्दैनौं भन्ने विवाद पनि हुदैन । स्याहारसम्भार, रेखदेख पनि पुग्छ ।’ प्रत्येक क्वारेण्टाइनमा स्थानीय समाजसेवीलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय पनि भएको उनले बताए ।

अहिले पाँचवटा क्वारेण्टाइन बनाइसकिएको र अरु पनि बन्ने क्रममा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्