| आइतवार, कार्तिक २२, २०८३

कोरोनाको भद्दा व्यवस्थापन : सरोज तामाङ ६९ दिनदेखि निरन्तर क्वारेण्टाइनमा

 

अजीरकोट गाउँपालिका ३ सिरानडाँडाका सरोज तामाङले क्वारेण्टाइनको कहर काटेको शनिबार ६९ दिन पुगेको छ ।

वनारसबाट घर फर्कने क्रममा सीमा पारि ४२ दिन र नेपालका बिभिन्न क्वारेण्टाइनमा २७ दिन बिताएको उनी बताउँछन् ।

१९ बर्षका तामाङ हाल अजीरकोट ३ भच्चेकको सभाहलमा निर्माण गरिएको क्वारेण्टाइनमा दशौं दिन बिताइरहेका छन् । उनको गत बिहिबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको सो कार्यमा संलग्न स्वास्थ्य प्राविधिक नारायणबाबु अर्यालले बताए ।

कोरोना महामारी फैलन थालेपछि उनी वनारसबाट घर फर्कन खोजेका थिए । तर उनलाई वानारस प्रशासनले स्थानीय जागरण पब्लिक स्कुलमा २० दिन र नवोदय स्कुलमा २२ दिन क्वारेण्टाइनमा राख्यो । ‘४२ दिन त्यहाँको क्वारेण्टाइनमा बिताएपछि सुनौली नाकामा आइपुगेँ’, तामाङ भन्छन्, ‘सुनौली नाकामा दुईदिन, कपिलबस्तुको नमुना माविको क्वारेण्टाइनमा पाँचदिन, रुपन्देहीको क्वारेण्टाइनमा पाँचदिन बसेँ । गोरखा आइसकेपछि मनकामना बहिरा माविको क्वारेण्टाइनमा पाँचदिन बसेँ । अनि यहाँ आएर क्वारेण्टाइनमा बसेको शुक्रबार १० दिन पूरा भएको छ ।’

गाउँको क्वारेण्टाइनमा बस्दा भने घरमा बसेजस्तै आनन्द भएको उनले बताए ।

‘सबै क्वारेण्टाइनमा आरडिटी टेष्ट गरेको थियो । यहाँचाहिँ पिसिआर टेष्ट गरेको छ । पक्कै नेगेटिभ आउने छ अनि घर जान पाइन्छ होला’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्