
कोरोना परीक्षण कछुवा गतिमा : क्वारेण्टाइनमा बसेको १४ दिन बित्यो, स्वाव संकलन गरेको पाँच दिन बित्यो, रिपोर्ट आएन
गोरखाबाट स्वाव परीक्षणका लागि पठाएको पाँच दिन बितिसक्दा पनि रीपोर्ट नआउँदा अन्यौलता बढेको छ ।
सामुहिक क्वारेण्टाइनमा बसेको १४ दिन बितिसकेको र स्वाब पठाएको पाँच दिन बितिसक्दा पनि रीपोर्ट नआउँदा उनीहरुमा अन्यौलता बढेको छ ।
गत सोमबारदेखि पठाएका ९६ जनाको पिसिआर रिपोर्ट नआएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
लामो समयदेखि पिसिआर रिपोर्ट नआउँदा क्वारेण्टाइनमा बसेकाहरुलाई आफ्नो स्वास्थ्य बारे अन्यौलता बढेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘क्वारेण्टाइनमा बसेकाहरुलाई आफ्नो स्वास्थ्यको रिपोर्ट जतिसक्दो चाँडो थाहा पाउने इच्छा हुन्छ । उहाँहरुको आफन्तहरु, गाउँलेहरुको हुन्छ, तर पाँच दिनअघि पठाएको पिसिआर रिपोर्ट अझै आएको छैन’, उनले भने, ‘यसले जताततै अन्यौलता बढेको छ ।’
गत सोमबार आरुघाट गाउँपालिकाको क्वारेण्टाइनबाट ३४ जनाको र मंगलबार गण्डकी गाउँपालिकाका १८ जनाको स्वाव परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । बुधबार भीमसेनथापा गाउँपालिकाका ११ जनाको र बिहिबार अजीरकोट गाउँपालिकाका नौ जना र सिरानचोक गाउँपालिकाका १३ जनाको स्वाव संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
त्यस्तै गोरखा अस्पतालबाट बिभिन्न मितिमा पठाइएको ११ जनाको पिसिआर रिपोर्ट नआएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नवीन थापाले बताए ।
‘रिपोर्ट ढिला हुँदा धेरै बेफाइदा हुन्छ’, मेसु थापा भन्छन्, ‘रिपोर्ट आएको भए नेगेटिभ आएकालाई होम क्वारेण्टाइनमा पठाउन सकिन्थ्यो होला । पोजेटिभ आएकाहरुलाई थप सावधानीका साथ ब्यवस्थित गरिन्थ्यो । रिपोर्ट ढिला हुँदा क्वारेण्टाइनमा बसेकाहरुमा असावधानी हुनसक्छ । संक्रमण फैलन सक्छ ।’ उनीहरुका आफन्तहरुमा के होला के होला भन्ने जिज्ञासा लम्बिरहेको उनले बताए ।
क्वारेण्टाइनमा बसेको १४ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा व्यवस्थापन व्ययभार पनि बढ्ने पालिकाहरु गुनासो गर्छन् ।
पर्याप्त भिटिएम पनि नहुने, समयमै पिसिआर रिपोर्ट पनि नहुने गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर थापा गुनासो गर्छन् । ‘पर्याप्त भिटिएम पनि उपलब्ध गराउन नसक्ने, पिसिआर रिपोर्ट पनि समयमै दिन नसक्ने हो भने यसको महत्व नै रहँदैन’, उनी भन्छन्, ‘यसै १४, १५ दिन बित्ने हो भने परीक्षण गरिरहनु नै पर्दैन । संक्रमितलाई लक्षण देखिइसक्छ । संक्रमित छैनन् भने सिधै घर पठाइदिए भइहाल्यो । बेकार १४, १५ दिनपछि पिसिआर परीक्षण गर्दा भिटिएम, पिपिई पनि सकिने, भिटिएम पनि सकिने, खर्च पनि बढ्ने हुन्छ ।’
पोखराबाट रिपोर्ट ढिला हुन थालेपछि बुधबारदेखि काठमाडौं पठाउन थालेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । काठमाडौं पठाएको तीन दिन हुँदा पनि रिपोर्ट नआएको हो ।
बिहिबार साँझसम्म गोरखामा विदेशबाट आउने पाँचसय ८१ जना पुगेको छ । बिगत एक महिनाको अवधिमा भारतबाट मात्र आउनेको संख्या दुईस ६६ रहेको छ । उनीहरुमध्य तीनसय ४९ जना सामुहिक क्वारेण्टाइनमा छन् । क्वारेण्टाइनमा रहेकामध्य एकसय ८५ जनाको पिसिआर परीक्षण गरिसकिएको र ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ ।
तस्वीर : नारायणबाबु अर्याल ।




