| बुधबार, असार ३१, २०७७

नाम्जुङका मृगौला रोग पिडितको उपचार, अर्थ सङ्कलन अभियान समापन

दुवै मृगौला फेल भएर एकबर्षदेखि उपचाररत शहीदलखन गाउँपालिका ९ नाम्जुङका सुमन श्रेष्ठको सफल उपचार  भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणपछि श्रेष्ठको स्वास्थ्य लाभ भएको हो ।

प्रत्यारोपणका लागि उनलाई उनकै श्रीमती लीला श्रेष्ठले मृगौला दिएकी थिइन् ।

उनको उपचारका लागि शहीद लखन गाउँपालिका ८ बुङ्कोटको सुमन बचाउ अभियानले आर्थिक सहयोग जुटाएको थियो । स्थानीय अमृतबाबु श्रेष्ठ संयोजक रहेको सो अभियानले उपचारका लागि नौलाख ११ हजार चारसय ४४ रुपैयाँ संकलन गरेको थियो ।

सुमन उपचार गरेर फर्केपछि बिहिबार आयोजित एक कार्यक्रममा खर्च गरेर बचेको २५ हजार पाँचसय १० रुपैयाँ श्रेष्ठ दम्पतिलाई हस्तान्तरण गरिएको वडाअध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए । उपचारको क्रममा आठलाख ८५ हजार नौसय ३४ रुपैयाँ खर्च भएको सो कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

रकम हस्तान्तरण तथा अभियान समापन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष अम्गाई, अर्थ समितिका संयोजक अमृतबाबु श्रेष्ठ, राम्चे प्राबिका प्रधानाध्यापक ओमप्रकाश श्रेष्ठले स्वास्थ्य लाभको कामना गर्दै बधाइ तथा शुभकामना दिएका नवइन्द्रेणी बुंकोट युवा क्लवका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्