
गण्डकी गाउँपालिकाका सबै पुलमा निगरानी टोली तैनाथ
गोरखाको गण्डकी गाउँपालिकाभित्र प्रवेश गर्ने सबै पुलमा निगरानी टोली तैनाथ गरेको छ । कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिका भित्रिने त्रिशुली र बूढीगण्डकी नदीका १४ ठाउँमा तीन जनाका दरले टोली तैनाथ गरेको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।
एकजना जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षक खटाइएको उनले बताए । ‘गत सोमबारदेखि टोली खटाएका हौं’, अध्यक्ष रानाले भने, ‘टोली बिहान छ बजेदेखि साँझ छ बजेसम्म खटिनेछन् । उनीहरुले को को गाउँपालिकामा प्रवेश गरे, कहाँबाट आए, किन आए, कहाँ जान्छन् ? उनीहरुको स्वास्थ्य अबस्था कस्तो छ ? भनेर विस्तृत विवरण संकलन गर्नेछन् ।’ संक्रमण फैलन नदिन बिभिन्न सचेतनामुलक जानकारी गराउने उनले बताए ।
वडानम्वर १ को बुटार, २ को गोर्दी, ३ को भैसीगौडा र ४ को फुजेल स्थित झोलुङ्गे पुलमा टोली परिचालन गरिएको छ । त्यस्तै वडानम्वर ५ को दर्वुङघाट तथा ६ को फिस्लिङ, हिक्लुङ र कौदीखोलामा रहेको पुलमा पनि टोली खटाइएको रानाले जानकारी दिए । त्यस्तै वडानम्बर ७ को इटार, ज्यामिरेघाट, धवादीघाट र अमटे, वडानम्वर ८ को चरौदी, चाइनाघाट र सिउरेनीटारको बाँदरेमा गरी १४ ठाउँमा टोली तैनाथ गरिएको उनले बताए ।
गाउँपालिकामा समन्वय नगरी घर आउने र लुकेर बस्ने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रण गर्न टोली परिचालन गरेको अध्यक्ष रानाले बताए ।
गण्डकी गाउँपालिकाको सीमानामा चितवनको इच्छाकामना गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र ज्वालामुखी र गोरखाको शहीद लखन गाउँपालिका रहेका छन् ।




