| बुधबार, असार ३१, २०७७

१५ दिन बनाउने भनिएको आईसियू गोरखा अस्पतालमा ४५ दिनमा पनि बनेन

बढ्दो कोरोना संक्रमणका बेला सार्वजनीक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साता भित्र निर्माण गर्ने भनिएको भेन्टिलेटर सहितको आईसियू कक्ष डेढ महिना सम्म बनेको छैन ।
स्वास्थ्य मन्त्रालय अन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाले गण्डकी प्रदेशको बाग्लुङ र गोरखा अस्पतलमा भेन्टिलेटर सहितको आईसियू निर्माण गर्न बजेट निकासा गरेको थियो । बाग्लुङमा दुई साता अघि निर्माण सम्पन्न भएर आईसियू प्रयोगमा आईसकेको बाग्लुङ अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले बताए ।
यती बेला भेन्टिलेटर सहितको आईसियू सेवा गोरखा अस्पतालले पनि दिएको हुनुपथ्र्यो तर छैन । ‘पटक–पटक टेण्डर गर्नुपर्दा ढिलो भएको हो’ गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नबिन थापाले भने । बैशाख तेस्रो साता गरिएको टेण्डरमा तीनवटा फर्म दर्ता भएका छन् । ती फर्मको प्राविधिक मूल्याङ्कन, आर्थिक मूल्याङ्कन हुन बाँकी छ । ‘प्राविधि मूल्याङ्कन पास भएपछि, आर्थिक मूल्याङ्कन हुन्छ, त्यो पास भएपछि ठेक्क सम्झौता हुन्छ’ निमित्त मेडिकल सुपरिटेण्डेन्ट थापाले भने ‘सार्वजनीक खरिद ऐन, नियमावलीका सबै प्रक्रिया पुरा गर्नुपर्ने हुँदा समय लागेको हो ।’
स्वास्थ्य मन्त्रालय अन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले एक महिना भित्र तयार गर्ने योजना सहित बजेट निकासा गरेको बताए । कोरोनाको संभावित खतरालाई ध्यान दिएर उपचारमा सजता ल्याउन आईसियू निर्माण छिटो गर्ने योजना महाशाखाको थियो । ९० लाख लगानीमा अस्पतालमा सुविधा सम्पन्न भेन्टिलेटर सहितको आईसियू दुई साता भित्र बन्ने चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्