| बुधबार, असार ३१, २०७७

कोरोना संक्रमितको उपचार गराउँदा सुरक्षित रहने अभ्यास सिकाउँदै नेपाली सेना

नेपाली सेनाको रणसिंह दल गण गोरखाले कोरोना संक्रमितको उपचार, मृत्यू भएपछि दाहासंस्कार गराउँदा ध्यान दिनुपर्ने विषयका बारेमा नमुना अभ्यास प्रर्दशन गरेको छ । गोरखा सदरमुकामको रानीपोखरी ब्यारेकमा आज उक्त अभ्यास गरिएको हो ।
कोरोनाको संक्रमण बढिरहेका बेला बिरामीको उपचार कसरी गर्ने, सुरक्षाका उपायमा कसरी ध्यान दिने, मृत्यू भयो भने दाहासंस्कार कसरी गर्ने भन्ने बारे नमुना अभ्यास गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए ।
उक्त अभ्यासमा बिरामीको उद्वार, उपचार, मृत्यू भएको खण्डमा दाहासंस्कार गर्दा सहभागी एम्बुलेन्स चालक, उद्धारकर्ता, चिकित्सक, मृतकका परिवारले कसरी कोरोनाबाट बच्न सक्छन् भन्ने सिकाईएको थियो । बिरामीलाई उपचार गर्न लैजाँदा देखि मृत्यू भएपछि कुन–कुन चरणमा ‘डिसइन्फेक्ड’ कसरी गर्ने भन्ने पनि देखाइएको थियो । नगरप्रमुख राजनराज पन्त, समन्वय उपप्रमुख जानुका अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुख, रेडक्रसकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्