| शुक्रबार, जेष्ठ २३, २०७७

गोरखा नगरपालिकाको क्वारेण्टाइनका २९ जना सहित १२९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

गोरखा नगरपालिका र गण्डकी गाउँपालिकाको सामुहिक क्वारेण्टाइनमा रहेका ३० जनाको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
मनकामना बहिरा माविको क्वारेण्टाइनमा रहेका २९ जना र गण्डकी गाउँपालिकाको क्वारेण्टाइनमा रहेका एक जनाको गत बिहिबार गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।

मनकामना बहिरा माविको क्वारेण्टाइनमा गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, भीमसेनथापा गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका र सिरानचोक गाउँपालिकाका बासिन्दा थिए । उनीहरु काठमाडौं, वीरगञ्ज, चितवन र धादिङबाट बिभिन्न मितिमा आएका रेग्मीले जानकारी दिए ।

उनीहरु १४ दिनसम्म सोही क्वारेण्टाइनमा बसेपछि आरडिटी परीक्षणपछि घर पठाइनेछ । एकहप्तासम्म होमक्वारेण्टानइनमा बस्ने सर्तमा घर पठाइने रेग्मीले बताए ।

अहिलेसम्म पिसिआर परीक्षण गरिएका गोरखाका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, गोरखाले जनाएको छ । हालसम्म बिभिन्न मितिमा परीक्षण गरिएको १२९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको कार्यालयका कोरोनासम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।

शुक्रबार मात्र संकलन गरिएको चार जनाको पिसिआरको रिपोर्ट नआइसकेको उनले बताए । चारजनामध्य एकजनाको आरडिटी पोजेटिभ रहेको छ भने अरुको सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्