| आइतवार, कार्तिक २२, २०८३

गोरखाको चेपाङबस्तीमा आठ जना दादुराका बिरामी, एक सिकिस्त, अरुको अबस्था सामान्य

 

गोरखाको गण्डकी गाउँपालिकाको चेपाङबस्तीमा दादुराको महामारी फैलिएको छ ।

वडा नं. ६ को ह्विलिङमा तीन जना बालबालिका र वडा नं. ७ को क्षेत्रीखोलाका पाँच जना चेपाङ समुदायमा दादुरा फैलिएको हो । वडा नं. ६ ह्वीलिङका एकै घरका १२ बर्ष र नौ बर्षका र अर्को एक घरका आठ बर्षका बालकमा दादुराका बिरामी रहेका स्थानीय बेलु चेपाङले जानकारी दिइन् । त्यस्तै वडा नं. ७ क्षेत्रीखोलाका छ महिनाका, चार बर्षका, १४ बर्षका, १८ बर्षका र २९ बर्षका चेपाङ समुदाय दादुराबाट संक्रमित भएको स्थानीय गीता चेपाङले बताइन् ।

उनीहरुमध्य ह्विलिङका तीन जनालाई निको भइसकेको बेली चेपाङले जानकारी दिइन् । क्षेत्रीखोलाका चार जनाको अबस्था सामान्य रहेको र एकजना गम्भीर बिरामी रहेको स्थानीय श्रीमाया चेपाङले जानकारी दिइन् । २९ बर्षकी राममाया चेपाङको अबस्था गम्भीर रहेको उनको भनाइ छ । ‘राममाया मेरो नन्द हो । छ दिनदेखि एकसयचार डिग्री भन्दा बढि ज्वारो आइरहेको छ’, उनले भनिन्, ‘उच्च ज्वारो आउने, टाउको दुख्ने, बान्ता आउने, पखाला लाग्ने, घाँटी सुख्खा हुने, दुख्ने भएर सिकिस्त छन् ।’ अरु पनि दुई हप्ताअघिदेखि बिरामी रहेको उनले बताइन् ।


स्वास्थ्य कार्यालय गोरखाले क्षेत्रीखोलामा दादुराको महामारी फैलिएको जनाएको छ । ‘बेनिघाट रोराङमा दादुराको महामारी फैलिएपछि सीमानामा पर्ने हाम्रो चेपाङबस्तीमा पनि महामारी फैलन सक्छ भनेर हामीले निगरानी गरिरहेका थियौँ’, कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले भने, ‘अब शुक्रबारदेखि त्यहाँ खोप अभियान चलाउँछौं ।’

महामारीको पुष्टि भएपछि आइतबार स्वास्थ्य सेवा बिभाग र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिले गाउँपालिकामा आएका छन् । उनीहरुले महामारी नियन्त्रण गर्ने बारे अभिमुखीकरण कार्यक्रम गरेका गण्डकी गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख बेलिमाया श्रेष्ठले जानकारी दिइन् । गाउँमै स्वास्थ्यकर्मी बसेर सरसफाइ र पोषणको कार्यक्रम गरिरहेको र भिटामिन ए क्याप्सुल खुवाइएको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्