
गोरखा छतिवन गैराको चेपाङबस्तीमा दादुराको महामारी
विश्वभर कोरोना महामारीको संक्रमण फैलिरहेका बेला गोरखाको चेपाङबस्तीमा दादुरा महामारी फैलिएको छ ।
दादुरा महामारीबाट दुई जनाको मृत्यू भएको धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सीमानामा रहेको गोरखाको छतिवन गैराका चेपाङ बालबालिकामा पनि दादुराको संक्रमण फैलिएको पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
पाँच जनाको दादुराको परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले चार जना बालबालिकामा दादुराको संक्रमण पुष्टि गरेको कार्यालयले जानकारी दिएको छ ।
छ महिनाको बच्चादेखि १७ बर्षकी किशोरीसम्ममा दादुराको संक्रमण पुष्टि भएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए । छ महिना, आठ महिना, १२ बर्ष र १७ बर्षका बिरामीमा दादुरा पुष्टि भएको उनले बताए । ‘बेनिघाट रोराङमा दादुरा महामारी फैलिरहेकाले सीमानामा पर्ने हाम्रो चेपाङबस्तीमा पनि महामारी फैलन सक्ने भनेर हामीले निगरानी गरिरहेका थियौँ’, उनले भने, ‘लक्षण देखिएका पाँच जनाको परीक्षण गरिएकोमा चारजनामा पोजेटिभ देखियो ।’ बैशाख १३ गतेदेखि बिरामी देखिएको उनले बताए ।
महामारीको पुष्टि भएपछि आइतबार स्वास्थ्य सेवा बिभाग र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिले गाउँपालिकामा आएका छन् । उनीहरुले महामारी नियन्त्रण गर्ने बारे अभिमुखीकरण कार्यक्रम गरेका गण्डकी गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख बेलिमाया श्रेष्ठले जानकारी दिइन् । ‘बिरामीलाई घरमै आइसोलेशनमा राखेर उपचार भइरहेको छ । गाउँमै स्वास्थ्यकर्मी बसेर सरसफाइ र पोषणको कार्यक्रम गरिरहनु भएको छ । भिटामिन ए क्याप्सुल खुवाइएको छ । निगरानी भइरहेको छ’, उनले भनिन्, ‘पर्सि सबै वडामा ओरिण्टेशन गर्नेछौँ । २६ गतेदेखि दादुरा रुबेलाको खोप अभियान सञ्चालन गर्नेछौं ।’ बिरामीको अबस्था सुधारोन्मुख रहेको र थप बिरामी नदेखिएको उनले बताइन् ।




