
कुसुण्डालाई कोरोना कहर : साहुले पत्याए पत्याइहाल्यो, नत्र मुखमा माड लाग्दैन
गोरखा नगरपालिका १० को तेरकिलो बजार र छेपेटार बजारको मध्य भागतिर पर्ने एउटा जङ्गल, जङ्गलको बीचमा सानोतिनो खालि जग्गा, त्यहीँ रहेका घरहरुमध्य सबैभन्दा सिरानको टहरो सुमित्रा कुसुण्डाको घर हो ।
बर्षौअघि जनता आवास कार्यक्रम अन्तर्गत बनेको सानो टहरो पनि भूकम्पले क्षति पुर्याएपछि बन्दै गरेको नयाँ एककोठे घर पनि छाना छाउन नसकेर ह्वाङ्गै छ ।
गोरखाको एक मात्र कुसुण्डा परिबारको गुजारा यहीँ, यसरी नै चलिरहेको छ ।
केश सेतै पाकेकी, कञ्चट बसिसकेकी, ज्यानको मासु ज्यानमै सुकेकी सुमित्रा कुसुण्डा अचेल ढोकाबाट टाढा जान सक्दिनन् । छाम्दा भेटिने ठाउँमा लठ्ठी राखेर प्राय दैलो आसपास झुत्रो गुन्द्रीमाथि बसिरहेको देख्न सकिन्छ ।
उमेरले ८४ कटेपछि गरिखाने हातगोडा बसे । आँखा, कान पनि बेकामे भए । ‘उमेरमा संसारै छोपुँला झैँ आँट थियो । बाहाँ चलुञ्जेल कहाँकहाँ पुगिएन होला, के के गरिएन होला । अहिले घरभित्रबाट बाहिर निस्कन पनि साथी चाहिन्छ’ नजिकै कोही छन् भन्ने चाल पाइन् भने उनी यस्तै गुनगुन गर्ने गर्छिन् ‘अहिले यत्ति पिढी पनि परदेश भयो । आँखा देख्दिन, कान सुन्दिन । नचिनेपछि के गर्नु र, आफ्नै छोरा बुहारी पनि पराइ भए ।’
उनलाई कोरोना के हो, लकडाउन के हो, केही थाहा पनि छैन, बुझ्दा पनि बुझ्दिनन् । यसको असर कति नजिक आइपुगेको छ भन्ने पनि उनलाई पत्तो छैन, तर चिन्दै नचिनेको कोरोना र लकडाउनले हातमुख जोर्न नपाइने अबस्थामा पुगेकोमा उनका छोरा बुहारीलाई असाध्यै पिर छ । ‘जेलामजदुरी रोकियो । अब खान नपाइने भयो’, सुमित्राकी बुहारी कमला भन्छिन्, ‘बुढाले पनि काम पाएनन्, दुईटै छोरा पनि फाल्टु भए । दिनदिनै काम गरेर चुल्हो बाल्नु पर्ने हामी, अब यत्रो जहानको पेट कसरी पाल्ने ?’ कान्छो छोराको परिबार साथमा छ । कामको सिलसिलामा भच्चेक पुगेको जेठो छोराको परिबार पनि खर्च सकिएर घर फर्कने तयारी गरिरहेको उनले बताइन् ।
केही दिनअघि नगरपालिकाले प्रतिव्यक्ति पाँचकिलो चामल, आधा किलो दाल, आधा लिटर भटमासको तेल, एकपोका नून बाँडेको थियो । ‘राहत पनि अब सक्किन लागिसक्यो । त्यो सकिएपछि हामी के खाने ?’, कमला प्रश्न गर्छिन्, ‘कि हामीलाई काम देऊ कि माम देऊ । नत्र परान कसरी धान्ने त ?’
सरकारले कुसुण्डा परिबारलाई प्रतिव्यक्ति दुईहजार रुपैयाँका दरले भत्ता पनि नदिएको होइन, तर भत्ताको रकम सबै ऋण तिरेर सकिएको उनको भनाइ छ । ‘चार महिनामा एकफेर भत्ता आउँछ । तर रिन तिर्दैमा सकिन्छ’, उनी भन्छिन्, ‘अब साहुले रिन पत्यायो भने बाँचिन्छ । पत्याएन भने के हुन्छ भन्न सकिदैन ।’ आफ्नो नाममा नङमा लाउने माटो पनि नभएको उनको भनाइ छ । ‘घडेरी एकजनाले दिए, घर सरकारले बनाइदियो’, उनी भन्छिन्, ‘दस नङ्ग्रा खियाएर हातमुख जोरेका थियौँ । अब काम गर्न जान पनि पाइएन । के खाएर बाँच्ने ?’




