
गोरखामा भूकम्पले भत्किएका घर पुनर्निर्माणको काम सुचारु हुने
गोरखामा रोकिएको निजी आवास पुनर्निर्माणको काम लामो समयको लकडाउनपछि सुचारु हुने भएको छ । कोरोनाको सम्भावित जोखिमका कारण घोषित एक महिने लकडाउनका कारण रोकिएका भूकम्पले भत्किएका घर पुनर्निर्माणको काम सुचारु गर्न सहमति दिने आइतबार सम्पन्न सर्वपक्षीय बैठकले निर्णय भएको हो ।
नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत २० गते तथा गत वैशाख तीन गतेको बैठकले निर्धारण गरेको सर्त पालना गरी निजी आवास पुनर्निर्माणका लागि अनुमति दिने निर्णय गरिएको सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
अन्य विकास निर्माणका आयोजना सञ्चालन गर्नका लागि गत बैशाख छ गतेको बैठकले जिल्लाभित्रका कामदार मात्रको प्रयोग गर्न दिने निर्णय भएकामा अब जिल्लाबाहिरबाट समेत मजदुर ल्याउन अनुमति दिने निर्णय भएको उनले बताए ।
‘बिगतमा समेत कार्यरत स्थानीय जनशक्तिको उपयोग गरी निर्माण आयोजना सञ्चालन गर्न गत बैशाख ६ गतेदेखि अनुमति प्रदान गर्दै आएकामा जिल्ला बाहिरबाट समेत दक्ष वा अदक्ष कामदार ल्याउन स्थानीय तहको सिफारिसमा व्यवस्था मिलाउने साथै निजी आवास निर्माण तथा पुनर्निर्माण एवं गाउँ, नगरतहका योजना समेत सञ्चालन गर्न व्यवस्था मिलाउने निर्णय गरियो’, आइतबार सम्पन्न बैठकको निर्णयमा उल्लेख गरिएको छ ।
स्थानीय तहको सिफारिसमा निर्माण सामग्री खरिद तथा ढुवानीका लागि समेत अनुमति दिने निर्णय भएको उनले बताए ।
गोरखामा भूकम्पपछिको पुनर्निर्माणको काम जम्मा ९२ प्रतिशत मात्र सम्पन्न भएको छ । लकडाउनका कारण साना ठूला विकास निर्माणको काम पनि रोकिएको थियो ।




