
पालुङटार नगरपालिकाका बिभिन्न बाटोमा अझै पनि ठाउँठाउँमा भाँजो
पालुङ्टार नगरपालिकाका बिभिन्न सडकहरुमा निर्माण गरिएको अबरोध अझै पनि हटेका छैनन् । वडा नं. १० का बिभिन्न ठाउँमा अझै पनि भाँजो हालिएको स्थानीय विपिन बिकले जानकारी दिए ।
सातदोबाटेको खारखोला पुल, लुइँटेलबाट मिरकोटतर्फ जाने बाटो र जोगीडिहीमा यसअघि निर्माण गरिएको भाँजो नहटाइएको उनले बताए । ‘भाँजो हटाएर हिडेमा काट्छु, मार्छु भन्ने सम्मको धम्की आउँछ’, उनी भन्छन्, ‘हामी काम गरेर खाने मान्छे हिडिरहनु पर्छ तर ठाउँठाउँमा भाँजो हाल्ने, धम्क्याउने गर्छन् ।’
गाउँगाउँमा स्थानीयबासीले अबरोध गर्दा जनजीवन कष्टकर भएकाले तत्काल हटाउन स्थानीय तहलाई आग्रह गर्ने जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा गत बैशाख पाँच गते सम्पन्न कमाण्डपोष्ट, सुरक्षा समिति र सर्वपक्षीय बैठकले निर्णय गरेको थियो ।
नगरपालिकाभित्रका सबै अबरोध तत्काल हटाउन निर्देशन गरिसकिएकाले यस्तो अबस्था नरहेको पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले जानकारी दिइन् । कतै अझै बाँकी रहेका छन् भने हटाउन तत्काल आग्रह गर्ने उनले बताइन् ।
(फाइल फोटो)




