
टाढा दुरीको घर हिडेका मजदुरलाई गोरखा, आबुखैरेनी र डुम्रेमा सहयोग
कोभिड १९ का कारण आव्हान गरिएको लकडाउनको सकस छिचोल्दै गृहनगर हिडेका पैदल यात्रुहरुलाई गोरखा र तनहूँका बिभिन्न बजारमा खाजा, पानी तथा फलफूल प्रदान गरी सहयोग गरिएको छ ।
पृथ्वीराजमार्ग हुदै बिभिन्न गन्तव्य हिडेका यात्रुहरुको यात्रा सहज बनाउनका लागि वडा कार्यालय, टोल विकास संस्था, प्रहरी कार्यालय, क्लव तथा व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।
बर्दिया, सुर्खेत, बारा, पर्सा लगायतका बिभिन्न ठाउँतर्फ जाँदै गरेकाहरुलाई गोरखा नगरपालिका वडा नं. २ कार्यालय, आँबुखैरेनी, डुम्रेका टोल विकास सँस्थाहरुले चिउरा, चाउचाउ, पानी दिएर स्वागत गरेका छन् ।
गोरखाबाट बर्दिया, सुर्खेत, बारा, पर्सा लगायतका बिभिन्न ठाउँतर्फ जाँदै गरेकाहरुलाई आँबुखैरेनीका बिभिन्न टोल विकास सँस्थाहरुले चिउरा, चाउचाउ, पानी दिएर स्वागत गरेका छन् । आँबुखैरेनीको बीचबजार टोल विकास संस्था, सिद्धि गणेश टोल विकास संस्थाहरुले खाजा तथा पानी वितरण गरेका टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर मगरले जानकारी दिए । ‘मानवता देखाउने यही बेला हो भन्नेम महशुस गरी हाम्रो टोल विकास सँस्थाले खरिद गरेर प्रत्येक बटुवालाई एक किलो चिउरा, दुईपोका चाउचाउ र एक लिटर पानीको बोत्तल दिएर पठाएका छौं’, उनले भने ।

त्यस्तै टाढाको घरसम्म हिडेका मजदुरहरुलाई राहत हुने गरी डुम्रे बजारमा ईलाका प्रहरी कार्यालयले पानी, चाउचाउ, बिस्कुट र फ्रुटी लगाएतका खानेकुराहरु प्रदान गरेको छ । स्थानीय समाजसेवी, व्यापारी, सामाजिक संघसंस्थाहरुसँग समन्वय गरी इप्रकाले हेल्पडेस्क खडा गरी प्रतिब्यक्ति एक बोतल पानी, एकपोका बिस्कुट, एक पाकेट चाउचाउ र एक पोका जुस दिने गरिएको प्रहरी प्रमुख प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
बिहिबार एकैदिनमा दुईसय जना भन्दा धेरै यात्रुलाई सेवा दिएको होटेल संघ डुम्रेका सचीव समेत रहेका महेन्द्र शाहीले जानकारी दिए ।
यसैगरी तनहुँको याम्पाफाटमा पनि स्थानीय समाजसेवी तथा ब्यवसायी बरुण भट्टराई तथा भानु भट्टराईले आफ्नो एकल प्रयासमा बाटोमा हिडेका पैदल यात्रीलाई सहज होस र भोकभोकै हिड्न नपरोस् भनेर स्थानीय स्तरमा उत्पादन भएको काक्रो पेटभरि खुवाएर पठाएका छन् ।
तनहुँको भानु १ भन्सार सल्बिस्नेमा स्थानीय साल्बिस्ने युवा क्लबले पनि पैदल यात्रीलाई सहयोग पुर्याउने उदेश्यले १ बोतल पानी र १ पोका चाउचाउ निशुल्क रूपमा वितरण गर्न शुरु गरेको छ ।





