| आइतवार, कार्तिक २२, २०८३

गोरखाको आरुघाट र भीमसेन थापा गाउँपालिकाका ४३ जनाको एण्टिबडी परीक्षण

कोरोना भाइरसको संक्रमण रहे नरहेको प्रारम्भिक अध्ययन गर्ने उद्देश्यले  स्वास्थ्य कार्यालय गोरखाले दुई गाउँपालिकाका ४३ जनाको आरडिटी किटद्वारा एण्टिबडी परीक्षण गरेको छ ।

विदेशबाट आएका आरुघाट गाउँपालिकाका २० जना र भीमसेन थापा गाउँपालिकाका २३ जनाको एण्टिबडी परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

आरुघाट गाउँपालिकाको भीमोदय माविमा र भीमसेन थापा गाउँपालिकाको बगुवा बर्थिङ सेण्टरमा परीक्षण कार्यक्रम गरिएको कोरोनासम्बन्धी स्रोत व्यक्ति नारायण अर्यालले जानकारी दिए । स्थानीय स्वास्थ्यकर्मीहरुको समन्वयमा जिल्लाबाट गएको टोलीले एण्टिबडी परीक्षण गरिएको उनले बताए ।

आरुघाट गाउँपालिकामा विदेशबाट आउनेको संख्या ३९ थियो जसमध्य १९ जना चैत महिनाभन्दा पहिल्यै आएको हुँदा परीक्षण नगरिएको गाउँपालिकाका प्रमुख पूर्ण दाहालले जानकारी दिए ।

त्यस्तै भीमसेनथापा गाउँपालिकामा विदेशबाट आउनेको संख्या २६ थियो जसमध्य तीनजनाको परीक्षण गर्न बाँकी रहेको हो ।
उनीहरु सबैको रीपोर्ट बिहिबार मात्र सार्वजनिक गरिने अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्