| आइतवार, कार्तिक २२, २०८३

अत्यावश्यकको नाममा अनाबश्यक गाडी कुद्न थालेपछि स्थानीयद्वारा सवारी चेकजाँच सुरु

 

लकडाउनका बेला अत्यावश्यकको नाममा अनाबश्यक सवारी साधन चल्न थालेपछि गोरखा नगरपालिका १० बाह्रकिलोका युवाहरुले सवारी चेकिङ गर्न थालेका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका बेला पनि जथाभावी रुपमा सवारीसाधन चल्न नरोकिएपछि मंगलबारदेखि युवाहरुले सवारी चेकिङ गर्न थालेको स्थानीय युवा अमृत लामिछानेले जानकारी दिए । ‘बिरामी बोक्ने एम्बुलेन्सले बिरामी नबोकेर यात्रु बोक्ने गरेका छन् । अत्याबश्यक भनेर पास लिएर चलेका गाडी पनि पासमा उल्लेख गरेको भन्दा अनाबश्यक प्रयोजनमा कुदिरहेका छन्’, लामिछानेले भने, ‘त्यसैले कहीँ प्रशासनले पनि जथाभावी पास दिइरहेको छ कि, कहीँ प्रहरीले पनि िफितलो चेकजाँच गरिरहेको छ कि भनेर युवाहरु नै चेकजाँचमा आएका हौं ।’ बिहान ११ बजेदेखि सवारी चेकजाँच गर्न थालेको उनले बताए । चेकजाँच गर्दा एउटा एम्बुलेन्सले बिरामी नलिई सात जना यात्रु कोचाकोच गरेर बोकेर कुदिरहेको भेटेको उनले बताए ।

मंगलबार दिउसोसम्म अनाधिकृत रुपमा चलेका ११ वटा सवारी साधन फिर्ता गरेको स्थानीयबासीको भनाइ छ ।

लकडाउनको २२ दिनसम्म पनि गोरखाको सडकमा अनावश्यक रुपमा गाडी चल्ने क्रम जारी छ । पासको दुरुपयोग गर्ने क्रम बढेपछि प्रशासन कार्यालयले यो अवधिमा दुईफेर पुरानो पास रद्ध गरी नयाँ पास बनाइसकेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा सवारी चलाउनु पर्ने व्यवस्था भएपनि वडा कार्यालयको तथा बिभिन्न संघसंस्थाको पासको आधारमा पनि सवारी चलेको भेटिएको युवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्