| आइतवार, कार्तिक २२, २०८३

खाद्यान्न सहयोग नलिने शहीद लखन गाउँपालिकाको निर्णय

 

गोरखाको शहीद लखन गाउँपालिकाले राहतका लागि खाद्यान्न सामग्री अस्वीकार गर्ने भएको छ । गाउँपालिकाको हालै सम्पन्न बैठकले कोरोना भाइरस(कोभिड १९)का कारण आव्हान गरिएको लकडाउनका कारण खाद्य जोखिममा परेकाहरुका लागि राहत प्रयोजनका लागि कसैबाट पनि खाद्यान्न सामग्री स्वीकार नगर्ने निर्णय गरेको हो ।

राहतबापत खाद्यान्न सामग्री स्वीकार गर्दा राहत वितरण भद्रगोल हुने भएकाले खाद्यान्न स्वीकार नगर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख रमेश थापाले जानकारी दिए । ‘राहत दिनुपर्ने घरसंख्या र राहतबापत दिने सामग्रीको परिमाण निर्धारण भइसकेको छ’, उनले भने, ‘अब खाद्यान्न राहत स्वीकार गरियो भने कि लाभग्राहीको संख्या थप हुनेछ कि राहत सामग्रीको परिमाण थप हुनेछ । यसरी भद्रगोल गर्नुभन्दा बरु राहत सामग्री नै अस्वीकार गर्ने निर्णय भएको छ ।’ खाद्यान्नको गुणस्तर असमान हुने भएको र लाभग्राहीमा भेदभाव हुने भएकाले पनि खाद्यान्न अस्वीकार गर्ने निर्णय गरिएको उनले बताए ।

‘कसैले कुनै स्तरको खाद्यान्न प्रदान गर्ने, कसैले अर्कै गुणस्तरको खाद्यान्न दिने हुँदा लाभग्राहीले समान गुणस्तरको खाद्य सामग्री पाउन नसक्ने हुँदा खाद्यान्न अस्वीकार गर्ने निर्णय गरेका हौं’, उनले भने ‘दुईजनासम्मको परिबारलाई १२.५ केजी चामल, चार जनासम्मको परिबारलाई २५ केजी चामल, छ जनासम्मको परिबारलाई ३७.५ केजी चामल र छ जनाभन्दा बढिको परिबारलाई ५० केजीका दरले चामल दिने निर्णय गरेका छौं ।’

सबै प्रकारका परिबारका लागि एक केजी दाल, एक लिटर खानेतेल, एक केजी केराउ, एक केजी आयो नून, एकसय ग्राम मसला र ५० ग्राम बेसार दिने निर्णय गरेको उनले बताए ।

गाउँपालिकाले दाताबाट राहत बापत नगद र स्वास्थ्य सामग्री भने स्वीकार गर्ने निर्णय गरेको छ । अहिलेसम्म टुगेदर फर नेपाल नामक संस्थाबाट २१ थान पिपिई, नौसय थान सर्जिकल मास्क, ४५० मिलिलिटरको २० बोत्तल सेनिटाइजर, एक्जामिनेशन ग्लोब्स नौसय ५० जोर, वाटरफिल्टर तीनथान, सुज कभर एकसय थान प्राप्त गरेको छ ।

त्यस्तै नाम्जुङ सेवा समाजबाट चार थान पिपिई सेट, साधना लघुवित्तबाट नगद रु ५० हजार र युएनडिपीमार्फत तीनसय थान सर्जिकल मास्क, एकसय थान सेनिटाइजर र एकसय थान ग्लोब्स र नेपाल शिक्षक संघको गाउँपालिकास्तरीय समितिबाट नगद रु १० हजार प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए । राहत वितरणमा एकद्वार नीति अवलम्बन गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्