
गोरखा अस्पतालका स्वास्थ्यकर्मी साधारण मास्ककै भरमा
गोरखा अस्पतालमा शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत आइपुगे ।
उनको स्वागतमा उभिएका गोरखा अस्पतालका मेडिकल सुपरीटेण्डेण्टदेखि सबै चिकित्सक र स्वास्थ्यकर्मीको मुखमा साधारण गुणस्तरको सर्जिकल मास्क थियो ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको एन ९५ मास्कको तीब्र आशा गरेर बसेका गोरखा अस्पतालका स्वास्थ्यकर्मीका लागि मन्त्री बस्नेतले पाँच थान पिपिईसेट र पाँचसय थान सर्जिकल मास्क हस्तान्तरण गरे ।
जिल्लाभरको कोरोना संक्रमणका शंकास्पद बिरामीको स्वास्थ्य परीक्षण गरिरहेको गोरखा अस्पतालका स्वास्थ्यकर्मीले एन ९५ मास्क लगाउन पाएका छैनन् । फिभर क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मीले समेत साधारण मास्ककै भरमा काम गरिरहनु परेको गुनासो गरेका छन् ।
‘विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको एन ९५ मास्कको अभाव छ’, निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर नवीन थापाले भने, ‘केही थान एन ९५ मास्क त छ, तर इमर्जेन्सीमा लगाउनु पर्ला भनेर साँचेर राखेका छौं । ‘ब्याकअप’ मा मास्क नहुँदा एन ९५ नखर्चेका हौं ।’ स्वाब संकलनका लागि तथा आइसोलेशनमा काम गर्दा भने आवश्यक पिपिई तथा गुणस्तरीय मास्क लगाएर काम गर्ने गरेको उनको भनाइ छ ।
एन ९५ मास्क नहुँदा स्वास्थ्यकर्मीहरुले जोखिम मलेर साधारण मास्क लगाएरै काम गरिरहेको अस्पतालका मेडिकल अधिकृत विनोद दुवाडी बताउँछन् । ‘अस्पतालमा आउने सर्वसाधारणले समेत एन ९५ मास्क लगाएको देखिन्छ तर हाम्रा डाक्टरसाब साथीहरु, फिभर क्लिनिकमा काम गर्ने स्टाफहरु समेत साधारण मास्क लगाएरै काम गरिरहनु भएको छ’, उनी भन्छन्, ‘यतिबेलासम्म त गाउँगाउँका स्वास्थ्यचौकीमा समेत एन ९५ मास्क पुगिसकेका छन् । तर हाम्रो अस्पतालमा छैन ।’ पिपिईसेट पनि पर्याप्त नपाइएको उनको भनाइ छ ।




