| बुधबार, जेष्ठ २१, २०७७

शहीद लखनका पाहुनालाई सामुहिक क्वारेण्टाइनको बास

 

शहीद लखन गाउँपालिकामा काम विशेषले जाँदै हुनुहुन्छ ? यदि हो भने तपाईँको बास घरमा होइन, सामुहिक क्वारेण्टाइनमा हुनेछ ।

गाउँपालिकाको मंगलबार सम्पन्न गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण विशेष समितिको बैठकले पाहुनालाई सामुहिक क्वारेण्टाइनमा राख्ने निर्णय गरेको हो ।

‘चैत २५ गतेभन्दा पछि शहीद लखन गाउँपालिकाभित्र स्वदेश वा विदेशबाट आएका नयाँ ब्यक्तिलाई कम्तिमा १४ दिन सामुहिक क्वारेण्टाइनमा राख्ने निर्णय भएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले भने, ‘यदि कोही आफ्नै गाउँपालिकाका एउटा वडाबाट अर्को वडामा पाहुना स्वरुप गएका छन् भने पनि घरमा बस्न पाउँदैनन् । सामुहिक क्वारेण्टाइनमा नै बस्नुपर्ने हुन्छ ।’

कसको घरमा को पाहुना आएका छन् भन्ने बारे स्थानीय स्तरको टोल विकास संस्थाले वडालाई, वडाले गाउँकार्यपालिकालाई खबर गरेपछि उनीहरुलाई सामुहिक क्वारेण्टाइनमा राखिने गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए । ‘हामीले लकडाउनका बेला कमभन्दा कम आवतजावत होओस् भनेर यस्तो निर्णय गरेका हौं’, उनले भने, ‘कोरोनाको संक्रमण फैलन नदिन सामाजिक दुरी नै अचुक उपाय भएकाले हामीले यस्तो निर्णय गरेका हौं ।’

साथै शहीद लखन गाउँपालिकाको मंगलबारको बैठकले कसैले पिपिई, थर्मोगन, खाद्यान्न तथा नगद राहत दिन चाहेमा एकद्वार नीति अवलम्बन गर्नुपर्ने निर्णय गरेको छ । राहत वितरणलाई व्यवस्थित गर्न एकद्वार नीति अपनाई गाउँपालिकामार्फत मात्र बाँड्ने निर्णय गरिएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्