| बुधबार, जेष्ठ २१, २०७७

लकडाउनका बेला मलामी संख्या १२ जनामात्र निर्धारण

सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरेकी ९७ बर्षीय श्रीमाया भट्टको सोमबार राती निधन भयो ।

मंगलबार बिहान कोरोना प्रतिकार्य समितिको बैठक बस्यो र मलामी जम्मा १२ जना मात्र जाने निर्णय ग¥यो । निर्णय अनुसार भट्टको दरौंदी नदीमा लगेर दाहसंस्कार गरियो ।

बाँकी रहेका छरछिमेकले घरमै सघाउने निर्णय गरिएको वडा अध्यक्ष सुरज ढकालले जानकारी दिए ।

‘उपल्लो गोहोरेमा करिब एकसय घरधुरी छ । यसअघि सयडेढसय जना मलामी जाने चलन थियो’, वडाअध्यक्ष ढकालले भने, ‘तर अहिले कोरोना संक्रमणको त्रास छ । लकडाउन गरिएको छ । सामाजिक दुरीको व्यवस्था छ त्यसैले स्थानीय कोरोना प्रतिकार्य समितिले मलामीको पनि संख्या निर्धारण गरेका हुन् ।’ आगामि दिनमा कसैको मलामी जानु परे पनि १२ जना मात्र जाने उनले बताए ।

सो वडामा २४ वटा प्रतिकार्य समिति छ । गाउँपालिकाभरि एकसय ४८ वटा प्रतिकार्य समिति छन् । समितिले लकडाउनलाई कडाइका साथ कार्यन्वयन गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

गाउँका मान्छे पनि बाहिर नजाने र बाहिरका मान्छेलाई पनि गाउँमा प्रवेश निषेध गरिएको उनले बताए । पाहुना आए पनि १४ दिन क्वारेण्टाइनमा राख्ने अथवा फिर्ता जाने प्रस्ताब गर्ने गरेको उनले बताए । सो व्यवस्थाका कारण पाहुनाहरु पनि नआउने गरेको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्