| बुधबार, जेष्ठ २१, २०७७

कुकुरले टोकेर एकजनाको मृत्यूपछि सिरानचोक उपल्लो पामका ५० जनालाई रेबिज बिरुद्धको खोप लगाइयो

सिरानचोक गाउँपालिका २ उपल्लो पामका ४५ वर्षिया रामबहादुर गुरुङको कुकुरले टोकेर मृत्यू भएपछि रेबिजको आशंकामा गाउँका ५० जनालाई खोप लगाइएको छ । माघ २ गते कुकुरले टोकेका उनीमा रेबिजको लक्षण देखिएको र फागुन १३ गते मृत्यू भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । उनको मृत्यूपछि त्रसित स्थानीय मध्ये १६ जनालाई पहिलो र दोस्रो चरणको खोप दिइएको र ३४ जनालाई पहिलो चरणको खोप आज दिइएको हो । पहिलो चरणमा १६ जनालाई गोरखा अस्पतालमै लगेर खोप दिइएको उनले बताए । तीन मात्रा खोप दिनुपर्ने हुन्छ । समुहमा नै खोप लगाउने पर्ने भएपछि गोरखा अस्पताल सँगको समन्वयमा गाउँपालिकाको स्वास्थ्य शाखाले घरघरमै खोप लगाउने ब्यवस्था गरेको जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाबाट खटिएको टोलीले सोधपुछ गर्दा रेबिजको लक्षण सँग मेल खाएको, माघ १० गते ८३ वर्षिय कलाबती गुरुङ र १६ गते ६६ वर्षका हर्कबहादुर गुरुङलाई पनि कुकुरले टोकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले बताए ।
रेबिज लागेको जनावरले टोकेको १ देखि तीन महिनामा रेबिज लक्षण मानिस तथा जनावरमा देखिन्छ । लक्षण देखिएको एक हप्तामा मृत्यू हुने खतरा रहने भएकाले स्थानीयमा त्रास कम गर्न गाउँपालिका स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले रेबिजको लक्षण, सर्ने अवस्था, ध्यान दिनुपर्ने उपाएका बारेपनि घरघरमा पुगेर जानकारी गराएको स्वास्थ्यकर्मी रामचन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्