| आइतवार, कार्तिक २२, २०८३

छेकम्पार र प्रोकमा घरघरमै पुगेर सबै स्थानीबासीको स्वास्थ्य चेकजाँच

 

विश्वव्यापी फैलिएको कोरोना महामारीको सम्भावित जोखिमबाट पूर्व सावधानीस्वरुप गोरखाका हिमाली गाउँहरुमा घरघरै स्वास्थ्य चेकजाँच गरिएका छ । सदरमुकामबाट पाँच दिनको पैदलयात्रापछि पुगिने चुमनुब्री गाउँपालिका ७ र ४ का नौ वटै टोलहरुमा घरघरै गएर स्वास्थ्य चेकजाँच गरिएको वडाअध्यक्षहरुले बताएका छन् ।

पाँच दिन लगाएर सबै टोलको सबै घरमा पुगेर स्वास्थ्य जाँच गरिएको वडा नं. ७ का अध्यक्ष पासाङफुञ्जो लामाले बताए । ‘हाम्रो वडामा नौ वटा टोल छ । स्वास्थ्यकर्मीहरुको चार वटा समूह बनाएर सबैको स्वास्थ्य जाँच गरेका हौं’, उनले भने, ‘पाँच दिन लगाएर पाँचसय ६८ जनाको स्वास्थ्य जाँच गरियो ।’

छेकम्पार स्वास्थ्यचौकी, करुणा क्लिनिक, क्यान नेपाल र चाया नेपालका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेको उनलेबताए । उनीहरु सबैको स्वास्थ्य अबस्था राम्रो रहेको पाइएको अध्यक्ष लामाले बताए ।


त्यस्तै चुमनुब्री गाउँपालिका ४ का सबै टोलहरुमा घरघरै गएर स्वास्थ्य चेकजाँच गरिएको वडाअध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । लार्के स्वास्थ्यचौकी, क्यान नेपाल, माउण्टेनचाइल्ड अन्तर्गत गप सामुदायिक जागरणका स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य जाँच गरिएको वडाअध्यक्ष लामाले बताए ।

‘हाम्रो वडामा पाँच वटा टोल छ । सबैमा गरेर दुईसय २० घरधुरी छ’, उनले भने, ‘कसैलाई घरमा पुगेर र मकै गोड्न बारीमा गएकालाई बारीमा गएर चेकजाँच गरियो ।’ अबस्था सबैको सामान्य रहेको उनले बताए । दुई पटकसम्म घरघरमै पुगेर जाँच गरेको र अब एकफेर चेकजाँच गर्ने अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्