
शहीद लखनमा ३० बेडको सामुहिक क्वारेण्टाइन स्थल निर्माण, १९५ बेडको क्वारेण्टाइन थप गर्ने तयारी
शहीद लखन गाउँपालिकाले ३० शैयाको सामुहिक क्वारेण्टाइन स्थल निर्माण गरेको छ । वडा नं. २, ६ र ७ मा गरी ३० बेडको क्वारेण्टाइनस्थल निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।
‘वडा नं. ७ बुंकोटको शहीदस्मृति माविमा नौ बेड, वडा नं. ६ बाँसकोटको हिमाल माविमा नौ बेड, वडा नं. २ को मनकामना माविमा नौ बेड र वडा नं. २ कै बालज्योति आधारभूत विद्यालयमा तीन बेडको क्वारेण्टाइनस्थल बनाएका छौं’, प्रमुख प्रशासकीय अधिकृत आलेले भने, ‘कोरोना भाइरसको सम्भावित लक्षण देखिएका विरामीलाई र होम क्वारेण्टाइनमा बस्न उचित वातावरण नमिलेका व्यक्तिहरुलाई राखिनेछ ।’
सबै नौ बेड तयार भएको ठाउँमा २५ बेडका दरले एकसय २५ बेड थप गरी १९५ बेडको क्वारेण्टाइन स्थल बनाउन स्थान छनौट गरिसकिएको उनले बताए ।
सामुहिक क्वारेण्टाइनमा बस्नेहरुलाई खानापान, स्वास्थ्य हेरचाह तथा सुरक्षाको व्यवस्थापन गाउँपालिकाले मिलाउने तयारी पूरा भएको उनले बताए ।




