| आइतवार, कार्तिक २२, २०८३

लकडाउनका कारण गोरखामा चैतदेशैको घाँटु नाच रोकियो

 

गोरखाका बिभिन्न गुरुङ समुदायको बसोबास रहेको गाउँहरुमा चैतदेशैको उपलक्ष्यमा लगाउने साँस्कृतिक नाच घाँटु स्थगित भएका छन् ।

कोरोना भाइरसको जोखिमका कारण दशैंको अष्टमीको दिन सुरु गरी नवमीसम्म चल्ने घाँटु यो बर्षको चैते दशैँका लागि नगर्ने निर्णय गरिएको धार्चे गाउँपालिका ७ का उज्वल गुरुङले जानकारी दिए ।

‘दशैँको दुईदिन नचाइने घाँटु यसबर्ष कोरोना भाइरसको जोखिम भएकाले नगर्ने निर्णय गरियो’, उनले भने, ‘हाम्रो वडा नं. ७ मा चैत महिनामा कोही पनि विदेशबाट नआएको हुँदा गाउँ प्रवेश गर्ने सबै नाका बन्द गर्नेसमेत निर्णय गरिएको छ ।’ वडाअध्यक्ष सूर्यमान गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले अर्मलाबाट, नौलीखोलाबाट, पहिरेडाँडाबाट र गुम्दाबाट गाउँ प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

स्थानीय राजनीतिक दलका नेता, शिक्षक, स्वास्थ्यकर्मी सम्मिलित बैठकले वडाका सबै सार्वजनिक धारामा एकेक थान डिटोल साबुन राख्ने पनि निर्णय गरेको उनले बताए । ‘लकडाउनलाई कडाइका साथ पालना गर्न आउँदो २५ गतेसम्मका लागि धेरै मान्छेको जमघट हुने जात्रामेला, अर्मपर्म पनि नगर्ने निर्णय गरिएको छ’, उनले भने, ‘लकडाउनलाई कडाइका साथ पालना गर्न धार्चे सयपत्री युवाक्लवका अध्यक्ष सन्तवीर गुरुङको नेतृत्वमा सात सदस्यीय समिति पनि गठन गरेका छौं ।’ सो समितिले लकडाउन पालना नभएका भए पालना गर्न दबाब दिने निर्णय भएको उनले बताए ।

लापु गाउँको कालरात्री माविमा क्वारेण्टाइनस्थल बनाएको छ । कोही कसैलाई स्वास्थ्य समस्या भएमा क्वारेण्टाइनमा राख्नका लागि तीनकोठाको क्वारेण्टाइन बनाउने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्