
चैत लागेपछि विदेशबाट गोरखामा आउनेको संख्या २१६, सबैजना होमक्वारेण्टाइनमा
कोरोनाको त्रास चलिरहेका बेला विदेशबाट धमाधम गोरखास्थित घर आउनेहरुको संख्या जिल्ला कमाण्ड पोष्टले संकलन गरेको छ ।
आइतबारसम्म संकलन भएको तथ्यांकअनुसार चैत लागेपछि गोरखामा २१६ जना बिभिन्न देशबाट भित्रिएको पाइएको छ ।
कमाण्डपोष्टबाट प्राप्त तथ्यांकअनुसार गोरखा नगरपालिकामा ४२ जना विभिन्न देशबाट भित्रिएका छन् । त्यस्तै पालुङटार नगरपालिकामा २५ जना, सिरानचोक गाउँपालिकामा १२ जना भित्रिएको पाइएको छ ।
त्यस्तै अजीरकोट गाउँपालिकामा १० जना मात्र, बारपाक सुलीकोट गाउँपालिकामा २९ जना, आरुघाट गाउँपालिकामा २५ जना भित्रिएको तथ्यांक प्राप्त भएको छ । त्यसैगरी भीमसेन थापा गाउँपालिकामा १७ जना, शहीद लखन गाउँपालिकामा ३३ जना र गण्डकी गाउँपालिकामा २३ जना आएका जिल्ला कमाण्डपोष्टले जनाएको छ ।
धार्चे र चुमनुब्रीको भने यसखालको तथ्यांक प्राप्त भएको छैन ।
विदेशबाट आएकाहरुलाई स्थानीय तहले होमक्वारेण्टाइनमा नै राखेको छ । होम क्वारेनटाइनमा रहेकाहरुलाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सामाजिक अगुवाहरुले रेखदेख गर्ने, स्वास्थ्य परीक्षण गर्ने गरेको बताइएको छ ।




