| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकामा सामुहिक क्वारेण्टाइन बन्दै

गोरखाका दुईवटा नगरपालिकाहरु, गोरखा र पालुङ्टार नगरपालिकाले सामुहिक क्वारेण्टाइन स्थल तयार गरेका छन् ।

गोरखा नगरपालिकाले सामुहिक क्वारेण्टाइनस्थलका लागि टक्सारस्थित मनकामना आवासीय बहिरा मावि छनौट गरेको जनाएको छ । त्यहाँ उपलब्ध छात्रबास र कक्षा कोठा भवनमा ११९ बेडको क्वारेण्टाइन बनाउने गरी धमाधम काम भइरहेको मेयर राजनराज पन्तले जानकारी दिए ।

पालुङ्टार नगरपालिकाले ठाँटीपोखरीस्थित धर्मावती प्राविको भवनलाई सामुहिक क्वारेण्टाइनस्थल बनाएको मेयर दीपकबाबु कँडेलले जानकारी दिए । त्यहाँ १८ बेडको क्वारेण्टाइन बनाउने काम भइरहेको उनले बताए ।

मनकामना बहिरा माविको छात्रबासमा रहेका बेडलाई आइतबार दिनभर स्तरोन्नती गर्ने काम गर्ने स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । ‘आज दिनभर मेडिकल बेड तयार गर्र्ने, क्वारेण्टाइनस्थल वरिपरि क्लोरिन छर्कने, सरसफाइ तथा पुछपाछ गर्ने काम हुन्छ’, उनले भने, ‘औषधी, उपकरण पनि तयार नै छ । ७० थान वाटर प्रुफ, विण्टप्रुफ(पिपिई) पनि छ ।’ गोरखा बजारमा नै तयार गरेको भए पनि पिपिईको गुणस्तरीय रहेको उनले बताए ।

‘अहिले त सबैलाई होम क्वारेण्टाइनमा बस्न भनेका छौँ । थप समस्या देखा प¥यो भने यहाँ ल्याउने हो’, स्वास्थ्य शाखा प्रमुख रेग्मीले भने ‘अहिलेसम्म विदेशबाट आएका ४२ जना भेटिएका छन् । उनीहरुलाई वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्यका कर्मचारीहरुले रेखदेख गरिरहनु भएको छ ।’ अहिलेसम्म केही समस्या नदेखिएको उनले बताए ।

क्वारेण्टाइन स्थल संचालन तथा व्यवस्थापनका लागि, रेखदेख गर्नका लागि दुई वटा समिति र स्वास्थ्यकर्मीको समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्