| शुक्रबार, जेष्ठ २३, २०७७

श्रमजीविलाई राहत घोषणा गर्न काङ्ग्रेस गोरखाको माग

कोरोना(कोविड १९) ले आक्रान्त बनाएको यो समयमा  श्रमजीविहरुलाई राहतको प्याकेज घोषणा गर्न नेपाली काङ्ग्रेस गोरखाले तीनै तहका सरकारको ध्यानकर्षण गराएको छ ।

शुक्रबार एक ध्यानाकर्षण पत्र जारी गर्दै काङ्ग्रेसले दैनिक ज्यालादारीमा जीवन गुजारिरहेका, न्यून आय भएका र गरिबीको रेखामुनि रहेकाहरुका लागि स्थानीय, प्रदेश र संघ सरकारले विशेष राहतको कार्यक्रम ल्याउनु पर्ने माग गरेको छ ।

काङ्ग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेद्वारा जारी ध्यानाकर्षण पत्रमा कोरोनाको महामारीको यो बेला केही दिनयता विभिन्न देशबाट ३० जना गोरखामा आएको भन्दै उनीहरुलाई क्वारेण्टाइनमा राखेर नियमित स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ ।

कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न गोरखा अस्पताल, आँपपिपल अस्पताल, आरुघाट, जौबारी र मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष तथा पर्याप्त जनशक्ति, पिपिई, थर्मोगनलगायतका उपकरण, औषधीको ब्यबस्था गर्न माग गरेको छ । त्यस्तै पर्याप्त मात्रमा आइसोलेशन वार्ड, क्वारेण्टाइन स्थल तयारी अबस्थामा राख्न पनि माग गरेको छ ।

विपतको यो बेलामा दैनिक उपभोग्य सामानको कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने जस्ता क्रियाकलाप हुनसक्ने भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गरिएको छ । साथै निरन्तर अनुगमन र व्यवस्थापनको पनि माग गरिएको छ ।

आउँदो चैत १८ गतेसम्मका लागि सरकारद्वारा घोषणा गरिएको लकडाउनलाई कडाइका साथ पालना गर्न सम्पूर्ण गोरखाबासीलाई आग्रह गर्दै सम्यमता, सावधानी तथा धैर्यता अपनाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्