| बुधबार, चैत्र २६, २०७६

कोरोनाबाट बच्न गोरखाको हिमाली गाउँहरुमा सीमानाका बन्द

 

कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाका हिमाली गाउँहरु बीच आवागमन बन्द गरिएको छ ।

चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ र वडा नं. २ ल्होका टोलटोल बीच दुईसातासम्म आवागमन बन्द गरिएको वडाअध्यक्षहरुले जानकारी दिए ।

वडा नं. १ को बिहिबार बसेको बैठकले सामागाउँ र वडा नं. २ को ल्हो बीच आवागमन बन्द गर्ने निर्णय गरेको छ । दुई गाउँको बीचमा पर्ने स्याला खोलाको पुल नतर्ने निर्णय गरेको वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।

त्यस्तै वडा नं. १ कै सामा र साम्दोका बासिन्दा बुढीगण्डकीको पुल तरेर वारिपारि नजाने निर्णय भएको उनले बताए । ‘चैतभरि सामाको मान्छे साम्दो पनि नजाने, ल्हो पनि नजाने निर्णय भएको छ । गाउँभित्र पनि जरुरी कामबाहेक बाहिर ननिस्कने निर्णय भएको छ’, उनले भने, ‘हाम्रो गाउँमा मोटरबाटो पनि छैन । कोही बिरामी परे भने कोरोना परीक्षण गर्न सात दिनको बाटो बोकेर सदरमुकाम पुर्याउनु पर्छ । त्यसैले सजग अपनाउनुको बिकल्प छैन ।’

वडा नं. २ को ल्हो, ल्ही र स्यो गाउँ बीच आवतजावत बन्द गरिएको वडाअध्यक्ष पेम्बारेता लामाले बताए । ‘ल्होको मान्छे स्योमा नजाने, स्योको मान्छे ल्होमा नजाने त्यस्तै स्योका मान्छे अरु गाउँमा नजाने, अरु गाउँका मान्छे पनि स्योमा नजाने निर्णय भएको छ ।’ हिमाली गाउँहरु एकै ठाउँमा झुरुप्प हुने भएकाले कोरोनाको संक्रमण फैलिएमा गाउँ नै सोत्तर हुने भएकाले उच्च सतर्कता अपनाएको उनले बताए ।
गाउँमा यातायातको सुविधा नभएकाले कोही बिरामी परेरमा हेलिकोप्टर चार्टरका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको वडा सदस्य मिङ्मार लामाले जानकारी दिए ।

दैनिक उपभोग्य सामग्री ढुवानीको एकमात्र साधन खच्चड भएकाले वडाअध्यक्षको अनुमति लिएर खच्चड आवतजावत गर्ने ब्यबस्था गर्ने निर्णय भएको वडा अध्यक्ष पेम्बारेताले बताए ।

प्रतिक्रिया दिनुहोस्