| बुधबार, चैत्र २६, २०७६

सामुहिक खेतीमा रमाउँदै कर्मसिङका कर्मशील महिलाहरु

गोरखा नगरपालिका १३ अबुँवा, कर्मसिङफाँटका महिलाहरु सामुहिक खेतीमा लागेका छन् ।

स्थानीय २९ घरका महिलाहरु कर्मसिङ तरकारी तथा फलफूल उत्पादन महिला समूह गठन गरी सामुहिक तरकारी खेतीमा लागेका हुन् ।

उनीहरुले स्थानीय पूर्णमाया कोइरालाको तीन रोपनी खेत भाडामा लिएर आलु, तोरी लगायतका खेती गर्ने गरेका छन् । यसबर्ष छसय किलो आलु उत्पादन गरेर बिक्री गरिसकेको समुहकी अध्यक्ष भगवती शाहले जानकारी दिइन् । एकहजार किलो बिक्री गर्ने लक्ष्य रहेको उनले बताइन् ।

आलु खेतीका लागि वडा नं. १३ को कार्यालयले बिउ उपलब्ध गराएको थियो । ‘मल र औषधी र जनश्रम आफैले गरेका हौं’, उनले भनिन्, ‘खन्ने, जोत्ने, रोप्ने गोड्ने, खन्ने सबै समूहले नै गरेका हौं । यसपटकचाहिँ कृषि कार्यालयमा दर्ता गरेका छौं । त्यहाँबाट केही सहयोग आउँछ कि, भन्ने आशा छ ।’ प्रत्येक घरबाट एकेक जना काममा आउनु पर्ने नियम बनाएका छन् । नआउनेसंग चारसय रुपैयाँ जरिबाना असुल्ने गरेको उनको भनाइ छ ।

साथै स्थानीय बाउन्नेबेल सामुदायिक वनको सात रोपनी जग्गामा अम्रिसो तथा बकाइनो खेती पनि गरेका छन् ।
समूहले तरकारी बेचेर अहिलेसम्म करिब सातलाख रुपैयाँ संकलन गरिसकेको छ । ‘गाउँघरमा बिहेबटुल हुँदा, लाहुरे आउँदा पूजा हुँदा नाचगान गरेर पनि पैसा उठाउँछौं । तरकारी बेचेर पनि उठाउँछौं ।

मासिक एकसय रुपैयाँका दरले पनि उठाउँछौं’, यसअघिकी अध्यक्ष यानुमाया नरालले भनिन्, ‘यसरी उठेको पैसा गाह्रोसाह्रो पर्दा व्याजमा सरसापट दिन्छौं । दुई, साँढे दुईलाखको त भाँडा मात्रै किनेका छौं ।’ समूहमा मिलेर काम गर्दा रमाइलो पनि हुने, एकआपसमा भावनात्मक सम्बन्ध पनि विकास हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्