| आइतवार, कार्तिक २२, २०८३

आजदेखि रुबेला र दादुराको खोप अभियान सुरु

दरौँदी समाचारदाताः गोरखामा आजदेखि रुबेला र दादुराको खोप अभियान सुरु हुदैछ । दुई चरणमा गरी आउँदो चैतको २२ गतेसम्म पाँचौ चरणको दादुरा र रुबेलाको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

अभियानमा नौ महिनादेखि पाँचबर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा र रुबेलाको रोग विरुद्धको खोप लगाइने कार्यालय प्रमुख विद्या तामाङले जानकारी दिइन् । शुक्रबार कार्यालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले आफ्नो पालिकाको वडाअन्तर्गतको अभियान सञ्चालन हुने मिति र खोपकेन्द्रमा लगी बालबालिकालाई खोप लगाउन सबैमा अनुरोध गरेकी छन् ।

पहिलो चरणमा चैत १ गतेदेखि ६ गतेसम्म जिल्लाको सिरानचोक, अजीरकोट, बारपाक सुलीकोट, आरुघाट, र भीमसेनथापा गाउँपालिका अभियान सञ्चालन गरिने कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।
त्यस्तै दोस्रो चरणअन्तर्गत चैत १५ गतेदेखि २२ गतेसम्म गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, चुमनुब्री, धार्चे, गण्डकी र शहीदलखन गाउँपालिकामा खोप अभियान सञ्चालन हुने कार्यालयले जानकारी दियो ।

यी दुवै खोपको अभियान यसअघि चार पटकसम्म सम्पन्न भइसकेका छन् । गणतन्त्र आएपछि भने यो अभियान पहिलो हो ।
गोरखामा यो अभियान अन्तर्गत २२ हजार दुईसय चार जना बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाइने कार्यालयले लक्ष्य राखेको छ । दुई बर्षभन्दा सम्मका छ हजार दुईसय ५५ जना र दुईबर्षदेखि पाँचबर्षसम्मका १४ हजार तीनसय ७५ जना बालबालिकालाई खोप लगाइने सूचना अधिकारी न्यौपानेले बताए ।

११ वटा स्थानीय तहको तीनसय ६४ वटा खोपकेन्द्रमा सञ्चालन गरिने अभियानमा १२ सय ९४ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

खोपको प्रचारप्रसारका लागि यसअघि नै घरघरमा निमन्त्रणा पठाइसकिएको कार्यालयले जनाएको छ । हाम्रा स्वास्थ्यकर्मीहरुले गाउँटोलमा अन्तरक्रिया, छलफल गरेर प्रचार गरेका छन् । कटुवाल कराएर पनि खोप अभियान बारे प्रचार गरिएको छ’, उनले भनिन्, ‘यति हुँदा पनि कथंकदाचित कोही खोपबाट छुटे भने नियमित खोप कार्यक्रममा लगाउन सकिनेछ ।’

प्रतिक्रिया दिनुहोस्