| बुधबार, चैत्र २६, २०७६

प्रमुख उपप्रमुखसंग नाम जोडेर कार्यक्रम बजेट बनाउने क्रम बढ्यो

गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखले दीगो र देखिने कार्यक्रम भन्दा सस्तो लोकप्रियता कमाउने कार्यक्रम गरेको भनेर आलोचना भइरहेका बेला यहाँका अधिकांश नगरपालिका, गाउँ पालिकाले प्रमुख, उपप्रमुखसंग नाम जोडेर बजेट तथा कार्यक्रम बनाउने क्रम बढेको छ ।

विशेषगरी लक्षित बर्गको कार्यक्रम र बजेट तथा स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, गरिबी निबारण सम्बन्धी कार्यक्रम प्रमुख र उपप्रमुखसंग नाम जोडेर बनाउने क्रम बढेको हो ।

नौ वटा गाउँपालिका र दुई वटा नगरपालिका रहेको गोरखाका तीन वटाबाहेक सबै गाउँपालिका, नगरपालिकाले प्रमुख उपप्रमुखसंग जोडेर कार्यक्रम बनाएको भेटिएको हो ।

कतिपय गाउँपालिकाका प्रमुख, उपप्रमुखले आफ्नो व्यक्तिगत नाममा गाउँपालिकाको कार्यक्रम बनाई बजेट बिनियोजन गरेका छन् । प्रमुख, उपप्रमुखसंग नाम जोडिएका एउटै गाउँपालिका, नगरपालिकामा चारवटासम्म कार्यक्रम बनाएका छन् ।

उपप्रमुख कुमारी गुरुङको नामबाट चुमनुब्री गाउँपालिकाको पाँचौ गाउँसभाले ‘कुमारी कोशेली कार्यक्रम’ लागु गरेको छ । गर्भवती, सुत्केरी तथा महिनावारी भएका महिलाहरुको स्वास्थ्य सुधारको क्षेत्रमा काम गर्ने गरी चालु आर्थिकबर्षको गाउँसभाबाट सो कार्यक्रम पास गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

सोही गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले ‘अध्यक्ष ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम लागु गरेका छन् । हिमाली भेगमा पर्ने सो गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण गर्नेलगायतका कार्यक्रम छन् । सोका लागि पनि १० लाख रुपैयाँ बिनियोजन गरिएको श्रेष्ठले बताए ।

त्यस्तै धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिता समावेश गरेका छन् । यसबर्षको सो कार्यक्रम सम्पन्न भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।
त्यस्तै उपप्रमुखसंग जोडेर उपाध्यक्ष महिला उत्थान कार्यक्रम निर्धारण गरिएको छ । सो कार्यक्रमअन्तर्गत लैंगिक समानता तथा सामाजिक समावेशीकरण, महिला सशक्तिकरण, उद्यमशीलता तथा सीप विकासका लागि काम गर्ने अध्यक्ष गुरुङले बताए ।

बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले ‘अध्यक्ष गरिबी निबारण कार्यक्रम’ गाउँसभाबाट पारित गराएका छन् । सोका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । त्यस्तै उपप्रमुख सनमाया गुरुङले ‘बारपाक सुलीकोटकी चेली, उपाध्यक्षको कोशेली’ कार्यक्रम लागु गरेकी छन् । सोका लागि तीनलाख रुपैयाँ बिनियोजन गरिएको उनले बताए ।

पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले ‘मेयरसंग गरिब बिरामी’ कार्यक्रम, ‘नगरप्रमुख कल्याणकारी कोष’ र ‘मेयरकप’ फुटबल कार्यक्रम नगरसभाबाट अनुमोदन गराएका छन् । त्यस्तै उपमेयर पम्फा बसेलले ‘उपप्रमुखसँग स्वास्थ्य शिक्षा’ कार्यक्रम र उपप्रमुखसंग लिगलिग लगानी सम्मेलन’ कार्यक्रम नगरसभाबाट अनुमोदन गराएकी छन् । मेयरकपका लागि २० लाख, उपप्रमुख लिगलिग लगानी सम्मेलनका लागि १० लाख र १३ लाख रहेको नगरप्रमुख कल्याण कारी कोष बनाइएको लेखा अधिकृत सुवन शर्माले जानकारी दिए ।

भीमसेनथापा गाउँपालिकाका प्रमुख इश्वर पाण्डेले ‘अध्यक्ष वृद्धवृद्धा स्वास्थ्य’ कार्यक्रम र ‘अध्यक्ष ज्येष्ठ नागरिक लौरो वितरण’ कार्यक्रम बनाएका छन् । अध्यक्ष वृद्धवृद्धा स्वास्थ्य कार्यक्रमका लागि सातलाख र अध्यक्ष लौरो वितरण कार्यक्रमका लागि दुईलाख रुपैयाँ बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जानकारी दिए ।
त्यसैगरी गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले नगरसभाबाट ‘मेयरकप फुटबल’, ‘नगरप्रमुख छात्रवृत्ति’ कार्यक्रम, ‘विपन्न, अशक्त, ज्येष्ठ नागरिक नगरप्रमुख स्वास्थ्य बीमा’ कार्यक्रम नगरसभाबाट पारित गराएका छन् । उपप्रमुख बिनाकुमारी श्रेष्ठले पनि ‘उपप्रमुख सबल नेतृत्व विकास’ कार्यक्रम चालु आर्थिकबर्षदेखि लागु गरेकी छन् । नगरप्रमुख स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत यसबर्ष एकसय जनालाई स्वास्थ्य बिमा गराउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । त्यस्तै उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम अन्तर्गत २५ लाख रुपैँया बिनियोजन गरिएको सामाजिक विकास शाखा प्रमुख विजयभक्त तिवारीले जानकारी दिए ।

सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले गाउँसभाबाट ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार’ कार्यक्रम लागु गरेका छन् । उपाध्यक्ष रीता देवकोटाले ‘उपाध्यक्ष स्वास्थ्य सुधार’ कार्यक्रम पारित गरी लागु गरेको प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर कुँबरले जानकारी दिए ।

त्यस्तै अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले ‘अध्यक्ष साना किसान कार्यक्रम’ लागु गरेका छन् । उपाध्यक्ष चन्द्रमाया गुरुङले ‘उपाध्यक्ष महिला उत्थान कार्यक्रम’ लागु गरेकी छन् । दुवै शीर्षकमा १०, १० लाख रुपैयाँ बिनियोजन गरिएको गाउँपालिका का प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।

आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकामा भने अध्यक्ष, उपाध्यक्षसंग जोडेर कुनै पनि कार्यक्रम नरहेको प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिए । ‘अध्यक्ष, उपाध्यक्षसंग जोडेर कार्यक्रम बनाउन हाम्रा प्रमुख, उपप्रमुखहरु मान्नु भएन’, गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले भने, ‘काम देखाउने हो, नाम किन जोड्नु प¥यो भन्नुभयो ।’

नाम जोडेर बनाइएको बजेट तथा कार्यक्रमसंग प्रमुख उपप्रमुखको अपनत्व बढ्ने गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको तर्क छ । साथै प्रमुख उपप्रमुखको नाम जोडिएका कार्यक्रमलाई उपलब्धीमुलक र दीगो बनाउनका लागि प्रमुख उपप्रमुखहरु गम्भीर हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्