
भाईरल संक्रमित प्रभा माविका १३० जना विद्यार्थीको स्वास्थ्य परीक्षण
बिगत पाँचदिनदेखि भाइरल फैलिएको अजीरकोट २ प्रभा माविका विद्यार्थीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।
गोरखा अस्पताल दुईजना चिकित्सक तथा अन्य पाँचजना स्वास्थ्यकर्मीको टोलीले शुक्रबार विद्यालयभित्रै स्वास्थ्य परीक्षण तथा उपचार गरेको अजीरकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए ।

‘एकसय ३० जना विद्यार्थी र २५ जना अभिभावकको स्वास्थ्य परीक्षण गरियो’, दवाडीले भने, ‘उपचार पनि गरियो । निशुल्क औषधी पनि वितरण गरियो ।’ सबै बिरामीको अबस्था हेर्दा चिन्ता गर्नुपर्ने अबस्था नरहेको उनले बताए । ‘बिभिन्न देशमा कोरोनाको संक्रमण फैलिएका बेला यहाँको भाइरल देखेर मान्छेहरु त्रसित भएका हुन् तर भाइरल संक्रमण नै हो । नियन्त्रण हुदैछ । चिन्ता गर्नुपर्ने अबस्था छैन’, उनले भने ‘भाइरल लागेपछि ठिक हुन करिब एकहप्ता लाग्ने भएकाले अहिले नै नियन्त्रण गर्न सकिँदैन । तर नियन्त्रणबाहिर छैन ।’

करिब दुईसयजना जना विद्यार्थी रहेका त्यहाँ गतहप्ताको मंगलबारदेखि भाइरल संक्रमण फैलिएको थियो । शुक्रबारसम्म एकसय ३० जनामा समस्या देखिएको विद्यालयले बताएको छ । रुघा, खोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएपछि यसअघि गाउँपालिकाको स्वास्थ्य टोलीले पनि उपचार गरेर फर्किएको थियो । फेरि शुक्रबार थप टोली पुगेर उपचार गरेको हो ।




