
कोरोनाको उपचार गर्न गोरखामा आइसोलेशन कक्ष तयार, कोरोना उपचार गर्न इमर्जेन्सी मेडिकल टिम निर्माण
कोभिड १९(कोरोना भाइरस)को उपचार गर्न गोरखामा पूर्वतयारी गरिएको छ ।
शंकास्पद बिरामी भेटिएमा छुट्टै कक्षमा राखेर उपचार गर्न गोरखा अस्पतालले आइसोलेशन वार्ड तयार गरेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
‘हाललाई दुईवटा कोठालाई सुविधासम्पन्न आइसोलेशन वार्ड बनाएका छौं’, ढकालले भने, ‘एटेच बाथरुमसहितको आइसोलेशन कक्षमा एसी जोडिएको छ । छिट्टै पाँच वटा कोठालाई पनि सुविधासम्पन्न बनाई आइसोलेशन वार्डको रुपमा प्रयोग गर्नेछौं ।’ नगरपालिकाले निर्माण गरिरहेको फोहर व्यवस्थापन भवनलाई यथासीघ्र निर्माण सम्पन्न गर्न आग्रह गरी सोही भवनमा आइसोलेशन बनाउने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।
कुनै बस्तीमा धेरै जना बिरामी परे भने सोही बस्तीमा गएर उपचार गर्न कार्यदल बनाइएको पनि उनले बताए ।
कोभिड १९ को उपचारका लागि अस्पतालले शुक्रबार इमर्जेन्सी मेडिकल टिम गठन गरेको छ ।
डाक्टर सन्तोष बास्तोलाको नेतृत्वमा मेडिकल टिम गठन गरिएको मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले जानकारी दिए । जसमा मेडिकल सर्जरी बिभागका डाक्टर गणेश श्रेष्ठ, डाक्टर विनोद दुवाडी, इमर्जेन्सीका डाक्टर कमलराज रोका, ओपिडि बिभागका वारिष्ठ स्वास्थ्य सहायक कृष्ण ढकाल रहेका छन् । त्यस्तै इमर्जेन्सी मेडिकल टिममा मुक्तिनाथ भट्टराई, सञ्चिता कुँबर, सोविता बगाले, सुशीला अधिकारी, पार्वती घिमिरे, चिजकुमार श्रेष्ठ, मिलन मग्राती, अनील रेग्मी, कुसुम श्रेष्ठ, कमल बसेल, रामकुमार अधिकारी रहेका छन् ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितलाई उपचार गर्नुपर्दा अपनाउनु पर्ने सुरक्षित विधिबारे अभिमुखीकरण गरिएको पनि अस्पतालले जनाएको छ । साथै कोभिड १९ को बिषयमा सर्वसाधारणलाई जनचेतना जगाउन फ्लेक्सबोर्ड बनाई अस्पताल आसपास राख्ने तयारी पनि भइरहेको अस्पतालले जनाएको छ ।
औषधीको अभाव हुन नदिन छुट्टै भण्डार कक्ष तयार गरेर इमर्जेन्सीका लागि सम्बन्धित औषधीहरु राखिने उनले बताए ।
स्वास्थ्यकर्मीको सुरक्षा पोशाक सेट(पिपिई) र मास्कको अभाव
शंकास्पद बिरामीको उपचार गर्नका लागि गोरखा अस्पतालका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा दिने पोशाकको अभाव छ । त्यस्तै मास्कको अभावका कारण खुल्लमखुल्ला उपचार गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले जानकारी दिए । ‘प्रदेशमा जम्मा १६ वटा सेट आएको छ भन्ने सुनेको छु । हाम्रो अस्पतालमा त आएको छैन’, उनले भने, ‘हामीले रेनकोट जस्तो वाटरप्रुफ कपडाको सेट बनाएर लगाउन चितवनमा अर्डर गरेका छौं ।’ मास्कको पनि चरम अभाव भएको उनले बताए । ‘मास्क पनि छ्रन । औषधी सप्लायर्सले पनि मास्कबाहेक अन्य औषधी मात्र ल्याएको छ ।’
‘हाम्रा सबै स्वास्थ्यकर्मीले बिनामास्क बिरामीको उपचार गरिरहनु भएको छ’, उनले भने, ‘अब नेपाली कागजको मास्क बनाएर लगाउने तयारी गरिरहेका छौं ।’
गोरखाका कुनैपनि औषधी पसलमा मास्क नपाइएको औषधी पसलेहरुले बताएका छन् ।
एकै समयमा धेरै जना संक्रमित भएमा आइसोलेशनमा राखेर उपचार गर्ने ठाउँको पनि अभाव रहेको मेसु थापाले बताए । अस्पतालको भवन निर्माणाधीन अबस्थामा रहेकाले शैयाहरु थन्किएर रहेको तर बिरामीलाई राख्नका लागि ठाउँको अभाव रहेको उनको गुनासो छ ।




