| आइतवार, कार्तिक २२, २०८३

कोरोनाका कारण गोरखाका दुबै नाका बन्द गर्न प्रशासनको निर्देशन

दरौँदी समाचारदाताः कोभिड– १९(कोरोना भाइरस) नभित्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गोरखाले तिब्बतसीमाको गोरखाकाको दुवै नाकामा कडाइ गर्न निर्देशन गरेको छ । चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका र चुमनुब्री ७ को ङुइला(मुलाढाज्यान) नाकामा आवतजावत गर्न निषेध गर्न सम्बन्धित क्षेत्रका प्रहरी इकाइलाई सोमबार निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘गाउँपालिका र वडा कार्यालयसंग समन्वय गरी रुइला र ङुइला नाकाबाट मान्छे र याकचौरी, झोपा, घोडा, खच्चड लगायतका पशुचौपाया आवतजावत गर्न निषेध गर्न प्रहरी चौकीहरुलाई आजै पत्राचार गरेका छौं’, प्रजिअ पौडेलले भने, ‘दुवै नाका वैधानिक नाका त होइनन्, तैपनि यदाकदा आवतजावत हुने हुनाले हामीले हाम्रै संयन्त्र प्रयोग गरी बन्द गरेका हौं ।’ रुइला नाका तिब्बती अधिकारीको निर्णयमा बर्षमा एकपटक मात्र खुल्ने गर्छ भने ङुइला नाका बाह्रै महिना खुल्ला रहन्छ ।

तर अहिले हिउँ नपग्लिएका कारण नाका खुल्ला नभएको वडाअध्यक्षहरु बताउँछन् । ‘अहिले हिउँले यसैपनि नाका खुल्ला छैन । मान्छेहरु आवतजावत गर्न सक्दैनन्’, छेकम्पारका वडाअध्यक्ष पासाङफुञ्जो लामाले भने ।

प्रतिक्रिया दिनुहोस्