| शनिबार, बैशाख ८, २०८१

४० औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी आजदेखि गोरखामा सुरु

नेपाल जुनियर तथा युवा रेडक्रसको ४० औँ राष्ट्रिय गोष्ठी आईतवार देखि गोरखा सदरमुकामको महेन्द्रज्योती माध्यामिक विद्यालयमा सुरु भएको छ । गोष्ठीमा देशभरका जिल्लाबाट जुनियर तथा युवा प्रतिनिधि, शिक्षक नायक, केन्द्रिय पदाधिकारी, समितिका सदस्य, दातृनिकायका प्रतिनिधि, जिल्ला शाखा मातहत उपशाखाका पदाधिकारी गरी तीन सय भन्दाबढिको उपस्थिती रहेको छ ।

रेडक्रस जुनियर समितिका केन्द्रिय सभापति सपुतबहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले रेडक्रसलाई सबैको संस्थाको रुपमा बिकास गर्दै अघि बढ्न सुझाब दिए । ‘रेडक्रसको मान्यता र भावनामा ग्रहण नलागोस्’ उनले भने ‘गोरखामा रेडक्रसले संञ्चालन गर्न लागेको ब्लड बैंक हामी सबै मिलेर सञ्चालन गर्न सक्यौँ भने यहाँका जनताले सहज सेवा पाउने थिए ।’ गोरखामा रेडक्रस सँगको सहकार्यमा भएका गतिविधीको उनले प्रशंसा गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेडक्रसका केन्द्रिय कार्यवाहक महामन्त्री हरिप्रसाद न्यौपाने, सुरेन्द्र सिंह अहेल लगायतले मन्तब्य राखेका थिए । गोष्ठी सोमवार सम्म चल्नेछ । गोष्ठीले घोषणा पत्र तयार गर्ने रेडक्रस गोरखा शाखाका सभापति भगवानबाबु मास्केले बताए । गोष्ठी सुरु हुनु अघि प्लेकार्ड, ब्यानर, रेडक्रसको चिन्ह अंकित टोपी, बाजागाजा सहित सहभागीको ¥यालीले बजार परिक्रमा गरेको थियो । गोष्ठीले देशभरका रेडक्रसकर्मीको ज्ञानलाई ब्यवाहारमा उतार्न र स्वयमसेवी भावनालाई उजागर गर्न मद्धत पुग्ने बताइएको छ । रेडक्रसले गत वर्ष गरेका गतिविधीको समिक्षा, भावी कार्यक्रम तय, सडक सुरक्षा, विपद् ब्यवस्थापन, र कृतिम घटना अभ्यास लगायतका बारेमा सैद्धान्तीक र ब्यवाहारिक अभ्यास गरिने रेडक्रस केन्द्रका निर्देशक सुर्दशन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्