| शनिबार, बैशाख ८, २०८१

आज ७० औँ प्रजातन्त्र दिबस मनाईँदै

आज ७० औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
एक सय चार वर्षे जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर प्रजातन्त्र स्थापना भएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकाल सुरू भएको हो ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ साल माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।
२००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
प्रजातन्त्र स्थापनापछि पनि देशमा धेरै पटक ठूलाठूला राजनीतिक आन्दोलन भयो । र राजनीतिक परिवर्तन पनि भयो । तर देशमा अझै राजनीति स्थिरता हुन सकेको छैन । मुलुक समृद्धिको गतिमा जनताको अपेक्षा अनुसार अघि नबढेको गुनासो नागरिक समाजका अगुवाहरुकै छ ।

प्रतिक्रिया दिनुहोस्