| शनिबार, बैशाख ८, २०८१

दोहोरो कर प्रणालीबारे तीनदिने तालिम

उद्योग वाणिज्य संघले गोरखाका उद्योगी, व्यापारीहरुका लागि तीनदिने भ्याटसहितको दोहोरो लेखा प्रणाली तालिम सञ्चालन गरेको छ ।

गत शुक्रबारबाट आइतबारसम्म तीनदिने तालिम सञ्चालन गरेको हो । करदाता बढिरहेको अवस्थामा करसम्बन्धी पछिल्ला व्यवस्थाहरुको बारेमा जानकारी दिन संघले आयोजना गरेको तालिममा गोरखाका ४१ जना उद्योगी, व्यापारीहरु सहभागी भएका संघको सचिवालयका कर्मचारी दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

दोहोरो कर प्रणाली तालिममा चुमनुब्रीबाहेक गोरखाका ११ वटै स्थानीय तहका उद्योगी, व्यापारीहरु सहभागी भएको श्रेष्ठल े बताए । तालिममा करसम्बन्धी विज्ञ सुरेन्द्र पौडेलले प्रशिक्षण दिएका थिए । तीनदिने तालिमको आइतबार आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सूर्य सेढाईँ, कर अधिकृत रामप्रसाद सुवेदी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, तालिम संयोजक सुरेन्द्र पौडेल, महासचिव राजुबाबु श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

तालिमपछि मूल्य अभिवृद्धि कर, आन्तरिक राजस्व तथा सरकारले लागु गरेको करसम्बन्धी बिभिन्न नीति, नियमका बारेमा करदाताहरुलाई जानकारी गराइएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्