| शनिबार, बैशाख ८, २०८१

गाउँगाउँमा रिचार्ज कार्डको कारोवार बढि

 

भीमसेन गाउँपालिका २ का बिजन राना हरेक दिन मोबाइलमा दुईसय रुपैयाँको रिचार्ज गर्छन् । ठेक्का पट्टाको काम गर्ने उनीसंग एनटिसी र एनसेलको दुईवटा मोबाइल छन् । दुबै मोबाइलमा दैनिक सरदर एक, एकसय रुपैयाँ खर्च हुने उनको भनाइ छ ।

बारपाक सुलीकोट गाउँपालिका ८ जराङ, देवकोटा टोलका राजेन्द्र देवकोटाको पसलमा रिचार्ज कार्ड बेचेर मात्र दैनिक करिब दुईहजार रुपैयाँ कमाइ हुन्छ । सबैथोकभन्दा धेरै रिचार्ज कार्ड बिक्ने अनुभव उनी सुनाउँछन् ।  केहीबर्ष यता गाउँमा हुने आर्थिक कारोबारमा सबैभन्दा धेरै रिचार्जकार्डबाट हुने गरेको पालुङ्टार ४ का हरि देवकोटाको निश्कर्ष छ ।

‘अझै बढि त युवा पुस्ता रिचार्जकार्डमा खर्च गर्छन्’, उनी भन्छन्, ‘युवाहरुमा पनि अझ बढि पुरुषहरु । उनीहरु आफै पनि धेरै फोन, इन्टरनेट चलाएर रिचार्ज कार्ड सक्छन् । अझै केटी साथीहरुको मोबाइल रिचार्ज गरिदिनु पर्ने भार पनि उनीहरुकै हुन्छ ।’ गाउँका साना भट्टी पसलहरुमा पनि रिचार्जकार्ड र रक्सीको कारोबार बढि हुन्छ ।

युवाहरुका लागि धेरैजसो रिचार्ज कार्ड, रक्सी र पेटूोल मोह हुने गर्छ । ‘त्यसैले युवा परिचालन गर्ने चलाख मान्छेले रिचार्ज कार्ड, पेटूोल वा रक्सी दिएर काम लगाउने गरेको पनि पाइन्छ’, उनले भने, ‘टाढाबाट रिचार्ज गर्न मिल्ने भएकाले कसैको धेरेथोर पैसा तिर्नुपरे वा कसैलाई धेरथोर पैसा दिनु परेमा रिचार्ज गरिदिने चलन छ । यसले पनि के गाउँ, के सहर रिचार्ज कार्डको धेरै कारोबार हुने गर्छ ।

‘मैले रिचार्ज कार्ड बेच्न थालेको तीनबर्ष भयो’, उनी भन्छन्, ‘अहिले सबैभन्दा धेरै कारोबार रिचार्ज कार्डकै हुन्छ ।’ उनले व्यापार गर्ने २०, २५ घर मात्र हो, तर व्यापार भने सबैभन्दा धेरै रिचार्ज कार्डकै हुने उनी बताउँछन् ।  डाटा प्याक लिने चलनले गर्दा युवा भन्दा बूढाबूढीले धेरै खर्च गर्ने अर्का पसले रामप्रसाद पुडासैनी बताउँछन् । ‘अझै अहिले त डाटा प्याक लिने चलन आयो र कम भयो’, पुडासैनी भन्छन्, ‘छोराछोरी बाहिर हुन्छन् । अनि बूढाबूढी फोन गर्दागर्दै पैसा सकियो भन्दै आउँछन् । दिनमै सय रुपैयाँ भन्दा धेरै खर्च गर्छन् ।’

रिचार्ज कार्डका कारण खर्च गर्ने प्रवृत्ति जताततै बढेको अर्का स्थानीय रमेश थापाको भनाइ छ । ‘रिचार्ज कार्डमा खर्च गर्ने प्रवृत्ति एक किसिमबाट हेर्दा सुविधा भए पनि अर्को किसिमले यो बिकृति हो’, उनी भन्छन्, ‘धनी, गरिब, साना ठूला सबैको साझा समस्या हो ।’

पचास, सय, दुईसय, पाँचसय, हजार सबै खाले कार्ड पाइने भएकाले मान्छेले यसमा खर्च गरेको पत्तै नपाउने उनले  बताए । ‘स्कूल तहका बालबच्चाको हातमा पनि मोबाइल हुन्छ’, उनी भन्छन्, ‘विदाका दिन, दिनभर काम गरेर खर्च जुटाएर पनि मोबाइल रिचार्ज गर्छन् । फोन भन्दा धेरै नेट चलाएर पैसा सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्