
क्यूएए मापदण्ड पूरा गर्ने चरणमा गोरखा क्याम्पस
गोरखा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) लागु गर्ने भएको छ । शिक्षाको गुणस्तर बढाउने उद्देश्यले डेढ वर्षदेखि उक्त प्रक्रिया सुरु गरेको क्याम्पसको अवस्थाबारे बुधवार एक टोलीले अनुगमन गरेको छ ।
क्याम्पसको अनुगमनसँगै अविभाबक, जनप्रतिनिधि, राजनीतिक दलका नेता समाज सेवीहरु बीच छलफल एवं अन्तरक्रिया भएको हो । क्याम्पसको भौतिक, शैक्षिक, पर्यावरणीय सबै क्षेत्रको गुणस्तरवृद्धि गर्दै शिक्षाको स्तर बढाउने उद्देश्यले नेपाल सरकारले उच्च शिक्षामा लागु गरेको एउटा परियोजनालाई क्यूएए भनिने क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले बताए ।
क्यम्पसको क्यूएए प्राप्त गर्ने अवस्था बारे अध्ययन गर्न गोरखा आएका प्राध्यापक डाक्टर केशरजंग बरालले नेपाल सरकारले शिक्षा नीतिमा क्यूएए अनिवार्य गरेकाले ढिलो छिटो सबै क्याम्पसले मापदण्ड पूरा गर्नुपर्ने बताए । ‘क्यूएएमा नजाने क्याम्पसको संम्बन्धन खारेजी सम्मको नियम बन्छ’, उनले भने, ‘असार मसान्तसम्म गोरखा क्याम्पसलाई क्यूएएमा जान हामीले सघाउने छौँ । त्यो बेलासम्म मापदण्ड पु¥याउन क्याम्पसले सकेन भने पछि आफैँले नगरी सुखै छैन ।’ अहिले क्याम्पसलाई क्यूएए प्राप्त गर्ने प्रक्रियामा परियोजनाले सघाएको उनले बताए ।
असार भित्रै मान्यता पाएमा क्याम्पसले पाउने अनुदान र सहयोग बढ्नेछ । त्यसपछि भने क्याम्पस आफैँले उक्त मान्यता प्राप्त गर्न लाग्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ । क्यूएए उर्तीण हुन एकसय २० पूर्णाङ्कमा कम्तिमा ५१ नम्बर प्राप्त गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।
क्यूएए एक पटक प्राप्त गरेपछि सँधै कायम हुँदैन । प्राध्यापक डाक्टर बरालले भने ‘५/५ वर्षमा पुनजाँच एवं मूल्याङ्कन भइरहन्छ, त्यतिबेला निर्धारित मापदण्ड पहिलेभन्दा खस्कियो भने क्यूएए अनुमति खोसिन सक्छ ।’ शिक्षाको गुणस्तर बढाउँदै लैजानु र निरन्तर कायम राख्नु क्यूएए लागु गर्नुको मूख्य आधार भएको उनले बताए ।
क्यूएए प्राप्त गर्न गोरखा क्याम्पस गोरखाले प्राध्यापकहरुलाई विज्ञ बनाउन पिएचडी पढ्न सघाउने, एमफिल अध्ययनमा सहयोग गर्ने, तालिम प्रशिक्षण दिँदै आएको क्याम्पस प्रमुख श्रेष्ठले बताए । २०३५ सालमा स्थापना भएको गोरखा क्याम्पसमा अहिले पाँच सय ९५ जना विद्यार्थी छन् ।
यीमध्ये ७२.६ प्रतिशत छात्रा छन् । जनजाति विद्यार्थी ५६.१ प्रतिशत छन् । ७० रोपनी आफ्नै जग्गा र १० वटा भबन छ । ‘काठमाडौँ उपत्यकाबाहिर स्नातकोत्तर तहमा जीव विज्ञान शिक्षा अध्यापन गराउने हामी मात्र हो’, क्याम्पस प्रमुख श्रेष्ठले भने, ‘गुणस्तर कायम राख्न पहिलेदेखि अहिले पनि निरन्तर प्रयास गरिरहेका छौँ ।’ क्याम्पसले क्यूएए प्राप्त गर्न सन् २०१७ देखि २०२२ सम्मको कार्ययोजना योजना बनाएर अघि बढेको उनले बताए ।
त्रिभुबन विश्वविद्यालयको नीति नियमभित्र रहेर संचालन हुँदै आएको उक्त क्याम्पसले क्यूएए अनुमति लिन पूरा गर्नुपर्ने सबै प्रक्रिया पुरा गर्ने क्याम्पस प्रमुख श्रेष्ठले दावी गरे । भौतिक रुपमा सम्पन्न, अपाङ्गमैत्री शौचालय, स्तरीय सडक, रङरोगन, प्रोजेक्टरबाट कक्षा सञ्चालन, स्तरीय तारबार जस्ता काम गोरखा क्याम्पसमा गर्न बाँकी छ ।
‘यी काम गर्न हामीसँग आर्थिक अभाव छ’ क्याम्पस प्रमुख श्रेष्ठले भने ‘स्थानीय सरकारको सहयोगमा हामीले आधारभूत आवस्यकता पूरा गर्न सकियो भने जेठ भित्र क्यूएए अनुमति पाउँछौँ ।’ गोरखा क्याम्पसले यस अघि तयार गरेको रिपोर्टका आधारमा चारलाख रुपैयाँ थप अनुदान पाइसकेको जनाएको छ ।
अनुदान पाउन योग्य ठहरियो र मापदण्डभित्र पुग्यो भने ल्याब संचालनका लागि २५ लाख र रिसर्चका लागि ५० लाख रुपैयाँ पाउने विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । यो अनुदानको लागि क्याम्पसले दरखास्त दिएपनि टुङ्गिएको छैन । ‘क्यूएए अनुमति पाइयो भने धेरैतिरबाट अनुदान लिने ढोका खुल्छ’ क्याम्पस प्रमुख श्रेष्ठले भने ‘लिन सकिएन भने झन्झट हुन्छ ।’ क्यूएए प्राप्त क्याम्पसबाट उर्तीण जनशक्ति दक्ष र योग्य हुन्छन् भन्ने प्रमाण रहनेहुँदा अध्ययनरत विद्यार्थीका लागि पनि यो महत्वपूर्ण छ ।
गोरखा क्याम्पसले बुधवार आयोजना गरेको छलफलमा क्याम्पसको तर्फबाट सञ्जय अधिकारीले क्यूएए अनुमति लिन अहिले सम्म गरेका प्रयास, सबल पक्ष, कमजोर पक्ष, गुणस्तर लगायतका बारेमा जानकारी गराएका थिए । प्रा.डा केशरजंग बराल, क्यूएए कर्मचारी आस्थामा अधिकारी सहितको टोली गोरखा क्याम्पसको अवस्थाबारे स्थलगत अध्ययन, क्याम्पस प्रशासन, विद्यार्थी, सरोकारवाला सँग छलफल गर्न शुक्रवारसम्म यहाँ रहनेछ ।




