
प्रधानाध्यापक थुनामा, नेपाने मावि तीनमहिनादेखि प्रअबिहिन
गोरखा केराबारीको नेपाने मावि तीन महिनादेखि प्रअबिहिन बनेको छ । १६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले प्रअलाई थुनामा राखेपछि सो विद्यालय लामो समयदेखि निमित्तको भरमा सञ्चालन भएको हो ।
‘प्रधानाध्यापक तीन महिना अघिदेखि अख्तियारको थुनामा हुनुहुन्छ’, वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकमान गुरुङले भने, ‘प्रावि तहका शिक्षक रामचन्द्र रेग्मीलाई निमित्त दिएको हो । उहाँ पनि १५, २० दिन भयो आउनु भएको छैन । विद्यालयमा अल्लि समस्या नै छ ।’
भूकम्पका कारण भत्किएको विद्यालय मर्मतसम्भारका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालयमा प्राप्त १६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा छानविन गर्न अख्तियारले प्रअ शाहलाई नियन्त्रणमा लिएको उनले बताए ।
सो विषयमा यस पत्रिकाले गत असार ६ गते को अंकमा समाचार प्रकाशन गरेको थियो ।
विद्यालय मर्मतका लागि प्राप्त बजेट दुरुपयोग भएकोमा विरोध गर्दै स्थानीयबासीले जेठ १२ र १३ गते विद्यालयमा तालासमेत लगाएका थिए । साउन १ गतेबाट लागु हुनेगरी प्रधानाध्यापक पदबाट राजिनामा दिने समझदारीपछि ताला खुलाइएको स्थानीय शेवाराज गुरुङले बताए ।
तर उनले राजिनामा नदिई प्रअको जिम्मेवारी सञ्चालन गरिरहेका थिए । भित्तामा प्लास्टर गरी ह्वाइटसिमेण्ट मात्र दलेर कार्यालयबाट प्राप्त १६ लाख रुपैयाँ हिनामिना गरेको गुरुङको आरोप छ । खर्च सार्वजनिक गर्न स्थानीयबासीले माग गर्दा छ लाख रुपैंया आफ्नो खातामा राखेको, अडिटरलाई दुईलाख रुपैयाँ दिएको दाबी गरेका थिए ।
‘बढिमा चार लाख रुपैंया खर्च भयो होला’, गुरुङले भने, ‘रङ पोत्ने बाहेक अरु केही काम गरेका छैनन् । बाँकी पैसा हिनामिना भएको छ ।’
मर्मत खर्च वापत प्राप्त रकम ‘विद्यालय चलाउन’ भन्दै जोगाएको प्रअले स्वीकार गरेका छन् । स्थानीय बासीबाट गुनासो आएपछि शिक्षा विकास तथा समन्वय इकाइले पनि विद्यालयको अनुगमन गरेको थियो ।




