| शुक्रबार, साउन २३, २०७७

औषधी बिभागद्वारा गोरखाका फार्मेसीको अनुगमन

औषधी ब्यबस्था बिभागले गोरखा सदरमुकाममा सञ्चालनमा आएका फार्मेसीहरुमा छड्के अनुगमन गरेको छ । शुक्रबार औषधी ब्यस्था बिभागका फार्मेसी अधिकृत सुरेन्द्र बोहोरासहित जिल्ला प्रशासन कार्यालय गोरखाको टोलीले गोरखा सदरमुकाम आसपासमा सञ्चालन भएका १६ वटा फार्मेसी अनुगमन गरेको हो ।

एक ठाउँमा फार्मेसी दर्ता गरेर दुई ठाउँबाट सञ्चालन गर्ने औषधी ब्यबसायीहरुलाई बिना प्रेस्क्रिप्सनका औषधी बेचबिखन गर्न तथा एकठाउँका लागि पसल दर्ता गरी दुई ठाउँबाट सञ्चालन गर्ने कार्य रोक्न आदेश दिएको अनुगमनपछि बोहोराले बताए ।

‘सदरमुकाममा रहेका दुई वटा फार्मेसीहरुले दुई ठाउँमा बोर्ड राखेर ब्यबसाय सञ्चालन गरेको पाइयो’, उनले भने, ‘त्यसरी एउटै लाइसेन्सले दुई ठाउँबाट ब्यबसाय सञ्चालन गर्न पाइदैन । त्यसैले एक ठाउँबाट मात्रै ब्यबसाय सञ्चालन गर्न ंआदेश दिएका छौँ ।’

अनुगमनका क्रममा फार्मेसीहरुले अबैध रुपमा औषधी बेचबिखन गरेको नपाईएको बिभागका फार्मेसी अधिकृत बोहोराले दाबी गरे । ‘रजिष्टर नभएका र अबैध रुपमा औषधी बिक्री बितरण गरेको अनुगमनका क्रममा भेटिएन’, उनले भने, ‘पत्रिकामा ंसमाचार आएका कारण फार्मेसी सञ्चालकहरु सचेत भएर पनि हुनसक्छ ? सबै फार्मेसीहरुले औषधीको खरिद र बिक्रीको सन्तुलन मिलाएर राखेको भेटियो ।’

फार्मेसीहरुमा अनुगमन गरेर सबैलाई औषधी ब्यबस्था बिभागको ऐनमा उल्लेखित मापदण्डभित्र रहेर ब्यबसाय सञ्चालन गर्न आदेश दिएको उनले बताए । ‘अनुगमन गरेका सबै फार्मेसीहरुमा औषधी ब्यबस्था बिभागले निर्धारण गरेको मापदण्डभित्र रहेर ब्यबसाय सञ्चालन गर्न आग्रह गरेका छौँ’, उनले भने, ‘हाम्रो अनुगमन निरन्तर भइराख्छ । आगामि दिनमा आउँदा यदि कहिँकतै मापदण्ड बिपरीत काम गरेको भेटियो भने कारवाही गर्नेछौँ ।’

यसअघि दरौंदी दैनिक पत्रिकामा गोरखा अस्पताल आसपासका केही औषधी पसलहरुमा प्रेस्क्रिप्सनबिना बेच्न मनाही गरिएका औषधी पनि बिनाप्रेस्क्रिप्सन बेचिएको भेटिएको बारे समाचार प्रकाशन भएको थियो । त्यस्तै एक ठाउँका लागि दर्ता भएका फार्मेसीहरु दुई ठाउँमा पसल खोलेर सञ्चालन गरेको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्