| आइतवार, कार्तिक २२, २०८३

अबैध रुपमा औषधी बेच्नेलाई नियमन गर्न प्रजिअको चासो

प्रचलित नियम कानून लत्याउँदै औषधी बिक्री बितरण गर्नेलाई कारबाही गर्न गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने ले चासो देखाएका छन् । नियम बिपरीत औषधी बिक्री बितरण गर्नेलाई नियमन गर्न प्रजिअ लामिछानेले बुधबार औषधी ब्यबस्था बिभाग कार्यालयका महानिर्देशक नारायण प्रसाद ढकाललाई टेलिफोन सम्पर्क मार्फत ध्याकर्षण गराएको जनाएका छन् ।

‘जिल्लामा अबैध रुपमा औषधी बिक्री बितरण हुने गरेको जानकारी पाएँ । त्यसैले मैले त्यस्ता कामलाई तत्काल नियमन गर्नका लागि औषधी ब्यबस्था बिभागका महानिर्देशकलाई टेलिफोन गरी आग्रह गरेको छु’, प्रजिअ लामिछानेले भने, ‘जिल्ला प्रशासन कार्यालयले आफुले पाएको जिम्मेवारी बाहिरका काम गर्न मिल्दैन् त्यसैले जानकारीमा आएका अवैध काम नियमन गर्न सम्बन्धित बिभाग वा कार्यालयलाई आग्रहचाहिँ गर्नेगर्छौं ।’

बिभागका महानिर्देशकले अबैध रुपमा औषधी बिक्री बितरण गर्नेलाई नियमन गर्न टिम बनाएर सक्दो छिटो पठाउने आश्वासन दिएको लामिछानेले बताए । ‘मैले उहाँसँग लामै समय फोनमा कुरा गरेँ । उहाँले टिम बनाएर छिट्टै पठाउने भन्नु भएको थियो । बिभागबाट अधिकार प्राप्त एकजना अधिकारी जतिसक्दो छिटो पठाइदिनुस् टिम यतै बनाईदिन्छु भनेर मैले भनेको छु ।’

कानुन मिच्नेलाई कारबाही गर्न पछि हट्दैनौँ : महानिर्देशक ढकाल

औषधी ब्यबस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी ब्यबस्था ऐन बिपरीत काम गर्ने जो कोहीलाई कानुनी कारवाही गर्ने दावी गरेका छन् । महानिर्देशक ढकालले चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधी बिक्री बितरण गर्न नपाइने प्रष्ट्याउँदै प्रचलित नियम कानून लत्याउँदै औषधी बिक्री बितरण गर्नेलाई बिभागले कानुनी दायरामा ल्याउने दावी गरेका हुन् ।

‘औषधी ब्यबस्था ऐन बिपरित प्रेस्क्रिप्सनबिना औषधी बेच्न पाईदैन । हामी यस बिषयमा अनुगमन गर्न जुनसुकै समयमा पनि त्यहाँ आउँछौँ’, महानिर्देशक ढकालले टेलिफोन सम्पर्कमा भने, ‘ऐन कानून बिपरीत कार्य गर्ने जो कोहीलाई ऐनमा उल्लेख भए अनुसारको कारवाही गर्न हामी पछि हट्दैनौँ ।’ गोरखा अस्पताल आसपासका औषधी पसलहरुमा ‘नियम कानून लत्याउँदै प्रेस्क्रिप्सनबिनाका औषधी बेच्दै’ गरेको बिषयमा दरौंदी दैनिकमा समाचार प्रकाशन भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले अबैध रुपमा औषधी बिक्री बितरण गर्नु कानुन बिपरीत भएको भन्दै त्यसलाई नियमन गर्न आफ्नै संयन्त्र प्रयोग गरी पहल गरिरहेको जनाएका छन् ।

‘अबैध रुपमा औषधी बिक्री बितरण गरे नगरेको अनुगमन गर्ने काम औषधी ब्यबस्था बिभागले हो । तर, कानुन बिपरीत काम गर्नेलाई हामीले कारवाही गर्न सक्छौँ । यस बिषयमा हामीले थप बुझिरहेका छौँ’ उनले भने । दरौँदी पत्रिकाले गरेको एक सर्वेक्षणमा गोरखा अस्पताल वरपर रहेका किेही फार्मेसीबाट चिकित्सक को प्रेस्क्रिप्सन बिनाका प्रेग्वालिन लगायतका औषधी बिक्री बितरण गर्ने गरेको पाइएको थियो ।

पैसाको प्रलोभनमा बिना सिफारिस प्रतिवन्धित औषधी सहजै किनबेच हुने गरेको तथा त्यस्ता औषधी पाकेटमा अंकित मूल्यभन्दा बढिमा बेच्ने गरेको भेटिएको हो । लागु औषध नियन्त्रण ऐन २०३३ को ऐन नं २४ को परिच्छेद २ को ५ को क मा कुनै व्यक्तिले स्वीकृत चिकित्सकको सिफारिस लिई लागु औषधी खरिद गर्न आएमा अनुमति पत्र प्राप्त पसलले त्यस्तो व्यक्तिलाई चिकित्सकको सिफारिस बमोजिम मात्रै उक्त औषधी बिक्री बितरण गर्ने उल्लेख गरिएको छ । प्रतिवन्धित औषधी सजिलै पाउने भएपछि लागु औषधको दुव्र्यशनमा लाग्ने युवाको संख्या दिनानुदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्