| आइतवार, कार्तिक २२, २०८३

भ्रमणबर्ष २०२० का लागि गोरखाका १० पर्यटकीय स्थल सिफारिस, चुमनुब्री र आरुघाटले नामै बुझाएनन्

 

भ्रमण बर्ष २०२० मा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला समन्वय समिति गोरखाले १० वटा पर्यटकीय स्थलको सूची प्रदेश सरकारको पर्यटन मन्त्रालयमा पठाएको छ ।

आइतबार सम्पन्न जिल्ला समन्वय समितिको बैठकले निर्णय गरी बिभिन्न १० वटा स्थानीय तहको एउटा एउटा पर्यटकीय स्थलको नाम पठाइएको समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए ।

बैठकले गोरखा नगरपालिकाको भीमसेन पार्कको नाम र पालुङटार नगरपालिकाको लिगलिगकोटको रंगीन तस्वीर, ती स्थानहरुको ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय महत्वको बारेमा तयार गरिएको लेख पर्यटन मन्त्रालयमा पठाएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाको गुप्सीपाखामा नवनिर्मित एकीकृत नमूना बस्ती र तातोपानीको बारेमा तयार गरिएको सामग्री पनि पठाएको छ । त्यस्तै बारपाक सुलीकोट गाउँपालिकास्थित सीता गुफाको बारेमा तयार गरिएको सामग्री, शहिद लखन गाउँपालिका अन्तर्गत शहिद लखन थापा स्मृति पार्कको बारेमा तयार गरिएको सामग्री पनि पठाउने निर्णय गरेको समन्वय समितिका कर्मचारी दीपक गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले गण्डकी गाउँपालिकाको महादेवडाँडाको महत्व तथा भीमसेनथापा गाउँपालिकामा बसोबास गर्ने बराम समुदायको सांस्कृतिक, सामाजिक तथा धार्मिक संस्कार आदिको बारेमा तयार गरिएको सामग्री पनि पर्यटन मन्त्रालयमा पठाइएको गुरुङले जानकारी दिए ।

मन्त्रालयले माग गरेपछि जिल्ला समन्वय समितिले ११ वटै स्थानीय तहसंग कम्तीमा एउटा पर्यटकीय स्थलको बारेमा सामग्री तयार गरी पठाउन आग्रह गरेको थियो । तर अन्तिम समयसम्म पनि चुमनुब्री र आरुघाट गाउँपालिकाको सामग्री नआएको जिल्ला समन्वय समितिका प्रमुख गुरुङले बताए । पर्यटन मन्त्रालयले भ्रमण बर्षमा पर्यटक आकर्षित गर्न ती ठाउँको बारेमा वर्णन गरिएको पुस्तक प्रकाशन गर्ने जनाएको छ । सोको प्रयोजनका लागि नाम र विवरण तयार गरी पठाउने निर्णय गरेको प्रमुख गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्