
आरुघाट र बोर्लाङका दुईवटा सहकारी संस्थालाई राष्ट्रियस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड)
गोरखाको आरुघाट र बोर्लाङका दुईवटा सहकारी संस्थाले राष्ट्रियस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड) पाएका छन् ।
भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङको भीमकुल वचत तथा ऋण सहकारी संस्था र आरुघाट गाउँपालिका–१० मंगलटारको सप्तकोशी वचत तथा ऋण सहकारी संस्थाले एनएस ब्राण्ड पाएका हुन् ।
नेफ्सकुनको २८ औं वार्षिक साधारणसभामा शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ती सहकारीका पदाधिकारीलाई ब्राण्ड प्रदान गरिन् ।
बुधबार सम्पन्न नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) बैठकले विभिन्न सूचकका आधारमा देशभरका ३४ वटा वचत तथा ऋण सहकारी संस्थालाई प्रोबेसन ब्राण्ड दिने निर्णय गरेको थियो । जसमा गोरखाका दुई सहकारी समेटिएका हुन् ।
सहकारी विभागले सहकारीहरुको दिगो विकास, व्यवसायीकरण र गुणस्तर सुनिश्चितताका लागि २०७१ सालदेखि नेपालस्तरको यो ब्राण्ड प्रदान गर्दै आएको छ ।




