| आइतवार, कार्तिक २२, २०८३

मुआब्जा माग्दै आरुघाट क्षेत्रका दुई सयभन्दा बढिले लालपूर्जा बुझाए

बूढीगण्डकी आयोजनाको प्रभावित क्षेत्र आरुघाट, आर्खेत, विशाल नगर र खहरेका बासिन्दाले मुआव्जा लिनका लागि धमाधम लालपूर्जा पेश गर्न थालेका छन् । मुआब्जा निर्धारणमा असन्तुष्टि जनाउँदै आन्दोलन गरेका बूढीगण्डकी प्रभावित आरुघाट बासीले धमाधम पुर्जा बुझाउन थालेका हुन् ।

वातावरण, मुआव्जा वितरण, पुनर्निर्माण तथा पुनर्वास कार्यालयले ‘छिटो आउनेलाई छिटो मुआव्जा दिने’ सूचना गरेपछि सो क्षेत्रका बासिन्दाले धमाधम आवेदन दिन थालेका सो कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।

जिल्ला मुआव्जा निर्धारण समिति गोरखा र धादिङले गत मंसिर १६ गते मुआव्जा दररेट तोकेर १५ दिन भित्र आयोजना कार्यालयमा पुर्जा बुझाउन अनुरोध गरेको थियो । बुधवारसम्म दुई जिल्लाका दुईसयभन्दा बढिले आयोजना कार्यालयमा लालपुर्जा बुझाएका कार्यालय प्रमुख कार्कीले बताए ।

आयोजनाको सिउरेनीटार स्थित कार्यालयमा गोरखातर्फका एक सय १३ जनाले र धादिङ तर्फका एक सय २५ जनाले मुआब्जा पाउनका लागि जग्गाधनी प्रमाण पुर्जा बुझाएका कार्कीले बताए ।

मुआब्जा तोक्न दबाव दिँदै आएका आरुघाट क्षेत्रका स्थानीयले मंसिर १६ गते प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले मुआव्जा तोकेपछि असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएका थिए । आन्दोलनबाट मुआब्जा थप हुने संभावना नदेखेपछि स्थानीयले आफ्नो नाममा रहेको जग्गाधनी पुर्जा आयोजना कार्यालय सिउरेनिटारमा पेश गर्न थालेका हुन् । पुर्जा पेश गरेकाहरुलाई दिने रकम आयोजनासँग सञ्चित रहेकाले मालपोत कार्यालयबाट छिटो प्रक्रिया पूरा गराई एक महिनाभित्रै मुआव्जा बितरण गरिसक्ने आयोजना प्रमुख कार्कीले बताए । त्यसका लागि प्रभावितहरुले समयमै पुर्जा आयोजना कार्यालयमा पेश गर्नुपर्ने उनले बताए ।

गोरखातर्फका ४५ जनाको र धादिङतर्फका ७५ जनाको पुर्जा रुजु गर्न मालपोत कार्यालयमा पठाइसकिएको आयोजनाको बतावरण, मुआब्जा बितरण पुनर्बास तथा पुनस्र्थापना ईकाईले जनाएको छ । अहिले रुजु भएका पुर्जा आयोजनाको नाममा दाखिला भएपछि रकम निकासा हुनेछ । मुआब्जा पाउँ भनी प्रभावित आरुघाट, आर्खेत, खहरे क्षेत्रका स्थानीयबासी दिनदिनै लालपुर्जा बुझाउन आयोजना कार्यालय पुगेका छन् ।
धमाधम पुर्जा बुझाए र मालपोतबाट छिटो प्रक्रिया पूरा भयो भने पुसभित्र बजार क्षेत्रको मुआब्जा सबै बाँडिसक्ने योजना रहेको आयोजना प्रमुख कार्कीले बताए । गोरखा र धादिङ दुबैतर्फ बजार क्षेत्रको मुआब्जा बितरण गर्न छ अर्व ७४ करोड लाग्ने मुआब्जा निर्धारण समितिले जनाएको छ ।

पछिल्लो चरण मुआब्जा निर्धारण गर्दा जग्गालाई १० भागमा वर्गीकरण गरेर प्रतिआना ५० हजारदेखि सातलाख तोकिएको थियो । आरुघाटको पाँचसय ३७ र आर्खेतको ७२ गरी गोरखातर्फ छ सय नौ रोपनीको मुआब्जा निर्धारण भएको हो । जग्गाको मुआब्जा बितरण सकेपछि बजार क्षेत्रमा घरगोठ र बोटबिरुवाको मुआब्जा बितरणका लागि स्थलगत लगत संकलन हुनेछ । यसअघि जग्गाको मुआब्जा बितरण गरिएको क्षेत्रमा चालुवर्षभित्रै घरगोठ तथा बोटबिरुवाको मुआब्जा बाँड्ने आयोजनाका प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्