| आइतवार, कार्तिक २२, २०८३

टावर बनेको महिनौँ बित्दा पनि गोरखाको उहियामा टेलिफोन सेवा सुरु भएन

दरौंदी : धार्चे गाउँपालिका वडा नं. ३ उहियामा नेपाल टेलिकमले महिनौअघि निर्माण गरेको टावरबाट सेवा प्रबाह नगर्दा स्थानीयबासी मोबाइल फोन प्रयोग गर्नबाट बञ्चित भएका छन् ।

चार महिनाअघि निर्माण गरेको टावरबाट अहिलेसम्म सेवा सञ्चालन नगरेको वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।

‘टावर बनाउनका लागि घर बनाउन थालेको आठ, नौ महिना भइसक्यो’, अध्यक्ष गुरुङलेभने, ‘टावर बनाएको पनि तीन महिना भइसक्यो, अझै सेवा सुरु भएको छैन । हामीले मोबाइलमा कुरा गर्न कहिले पाउँछौं भनेर गाउँलेले मलाई सोधेर हैरान पारिसके ।’

गाउँमा मोबाइल सेवा पाउने रहरमा गाउँलेले टावरमा विद्युत लाइन पनि जोडिसकेका उनले बताए । जिल्लाका अधिकांश गाउँमा मोबाइल सेवा सञ्चालन भएपनि धार्चे गाउँपालिका ३ उहियामा मोबाइल सेवा छैन । साबिक उहिया गाविस अन्तर्गत पर्ने खोर्ला, खोर्लाबेशी, तातोपानी, दुङ्ला गाउँमा पनि मोबाइल सेवा उपलब्ध नभएको वडा अध्यक्ष गुरुङ बताउँछन् ।

टावर निर्माण भइसकेको, विद्युत लाइन जोडिसकेकाले अब छिट्टै सेवा सुचारु गर्ने नेपाल टेलिकम गोरखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । ‘सबै तयारी भइसक्यो अब छिट्टै सेवा सुरु हुन्छ’, उनले भने, ‘त्यहाँसम्म जानै भ्याछैन ।’ पुसभित्र जसरी पनि सेवा सुरु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्