
गोरखाको एक सहकारीले गर्यो विद्यालय बन्द गरेर साधारण सभा
गोरखाको एक सहकारी संस्थाले विद्यालय बन्द गरेर आफ्नो प्रारम्भिक साधारण सभा सञ्चालन गरेको छ । तारानगर सानाकिसान कृषि सहकारी संस्थाले सोमबार गोरखा नगरपालिका वडा नं. ११ तेरकिलोस्थित चन्द्रज्योति आधारभूत विद्यालय बन्द गर्न लगाएर विद्यालयको मैदानमा साधारणसभा सञ्चालन गरेको हो ।
विद्यालय बन्द गराएर आयोजना गरिएको सहकारी संस्थाको सो कार्यक्रममा गण्डकी प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई प्रमु्ख अतिथिको रुपमा उपस्थित थिए । साथै साना किसान कृषि सहकारीका केन्द्रीय सदस्य कृष्णबाबु श्रेष्ठ, वडा नं. १० का वडाअध्यक्ष देवीबहादुर बस्नेत र वडा नं. १२ का अध्यक्ष डिल बहादुर थापा सहभागी थिए ।
विद्यालय बन्द गरेर आयोजित सो कार्यक्रममा ११ वटा अन्तरसमूह, ९४ वटा समूहको प्रतिनिधित्व रहेको थियो । सहकारीको कार्यक्रम सञ्चालन गर्न विद्यालय प्राङ्गण प्रयोग हुँदा त्यहाँ पढ्ने ५० जना विद्यार्थी घरघरमा खेलेर बसेका थिए ।
विद्यालय बन्द भएपछि त्यहाँ कार्यरत पाँच जना शिक्षक कर्मचारीलाई पनि बिदा दिइएको थियो । सहकारीको कार्यक्रमका लागि विद्यालय बन्द गर्न आफूले असहमति जनाउँदा जनाउँदै पनि सहकारीका पदाधिकारीले जोडबल गरेर माग गरेका प्रधानाध्यापक प्रतिशा अधिकारीले जानकारी दिइन् ।
‘म वडा कार्यालयमा गएका बेला सहकारीको चिठी आएको रहेछ । विद्यालय बन्द गरेर सहकारीको कार्यक्रम गर्न दिन मिल्थ्यो कि मिल्थेन मलाई राम्ररी थाहा पनि थिएन’, उनले भनिन्, ‘पानी पनि नभएको, सौचालय पनि नभएको ठाउँमा किन कार्यक्रम गर्नुप¥यो त भनेर मैले उहाँहरुसंग सुरुमा असहमति राखेको थिएँ तर एकदिन कार्यक्रम गर्न दिन पनि के भो त ? भनेर कर गर्न थाल्नु भयो । अनि हुन्छ भनेको हुँ ।’ कार्यक्रम गर्नका लागि विद्यालयको प्राङ्गण माग गर्न सहकारीको अध्यक्ष चञ्चला ज्ञावलीको हस्ताक्षर भएको चिठी पाएको उनले बताइन् ।
११ वटा अन्तरसमूह, ९४ वटा समूह र ५६४ जना सदस्य रहेको यति ठूलो सहकारीको कार्यक्रम गर्नका लागि उपयुक्त स्थल यही भएकाले सो विद्यालय माग गरिएको कृषि सहकारीका उपाध्यक्ष भूरमण घिमिरेले जानकारी दिए । ‘आइतबार विद्यालयको परीक्षा सकिएको रहेछ । सबैको केन्द्रविन्दू पर्ने ठाउँ र खुल्ला ठाउँ पनि भएकाले सोमबार एकदिनका लागि विद्यालयको प्राङ्गण माग गरिएको हो ।’
गोरखा नगरपालिकाको नगर शिक्षा कार्यालय ले भने परीक्षा सकेर मात्र सहकारीको कार्यक्रम गरेको भन्ने जानकारी पाएको जनाएको छ । ‘हामीले पनि यस बारेमा सूचना पाएका थियौं’, नगर शिक्षा कार्यालयका कर्मचारी ध्रुव अर्यालले भने, ‘हामीले सोध्दा ११ बजेसम्म परीक्षा थियो । परीक्षा सकेर कार्यक्रम गरिएको हो भन्ने जवाफ पायौँ ।’
तर विद्यालयमा परीक्षा नभई बिहानदेखि नै विद्यालय बन्द गरी कार्यक्रम गरिएको एक स्थानीयबासीले बताएका छन् ।




