
मिहिनेत गरे स्वदेशमै मालामाल, कुखुरा पालनबाट परशुराम बने करोडपति
घरमा कृषि र पशु स्याहार्ने कामले दिक्क भएर सन् २००४ मा इजरायल पुगेका गोरखा नगरपालिका ८ डुम्रीडाँडाका परशु राम बस्नेतले त्यहाँ पनि पशु तथा, कुखुरा फर्ममा काम गर्नुप¥यो । कमर्समा स्नातक पढिसक्दा पनि नेपालमा बसेर त्यसमाथि पनि कृषि पेशाबाट कहिल्यै उँभो लाग्न सकिदैन भन्ने उनको दिमागमा थियो । त्यसैले तीनलाख रुपैयाँ ऋण लिएर उनी इजरायल गएका थिए ।
तर जब इजराइलमा पनि कुखुरा फर्ममा काम गरे, उनमा कृषि पेशाले कसरी उँभो लाग्न सकिन्छ भन्ने राम्रोसंग जान्ने अवसर मिल्यो । फर्ममा काम गर्दागर्दै एकदिन उनको दिमागमा क्लिक भयो, यस्तो ब्यबसाय म आफ्नो गाउँमा पनि गर्नसक्छु । त्यसपछि उनले काम मात्र गरेनन्, यदि मैले यस्तै ब्यबसाय गरेँ भने के के गर्नुपर्दो रहेछ भनेर पनि नोट गर्न थाले ।
आठबर्ष लामो इजराइल बसाइमा उनले ४५ लाख भन्दा धेरै कमाइ गरे । त्यसले उनले सोचेजस्तो पशुफर्म सञ्चालन गर्न पुग्थेन तर प्रारम्भिक खर्च पुग्थ्यो ।
सन् २०१२ मा उनी घर फर्किए । बस्नेत पोल्ट्री फर्म नामको ब्यबसाय दर्ता गरे । सुरुमा आफ्नै घर आसपासको जग्गामा कुखुरा पालनका लागि फर्म बनाए । सुरुमा खोरमा बोइलरका तीनहजार वटा चल्ला हाले । त्यसबाट अलिअलि आम्दानी हुन थालेपछि अल्लि पर पहिलेको भन्दा ठूलो खोर बनाए र १० हजार कुखुरा पाल्न थाले । त्यसबाट पनि उनलाई राम्रै आम्दानी भयो ।
अब एक दुईबर्ष बोइलर फर्म सञ्चालन गरेपछि उनलाई फेरि त्यही अबस्थामा बसिरहन मन लागेन । ‘सँधै यत्रै साइजको ब्यबसाय चलाइरहेर त भएन भनेर मैले अब अलिकति पेशा बदल्ने सोचेँ’, उनी भन्छन्, ‘त्यसपछि मैले लेयर्सको छ हजार वटा चल्ला हालेँ ।’ डेढबर्षअघिदेखि उनले गोरखा नगरपालिका १० छेपेटारमा लेयर्स कुखुरा फर्म पनि सञ्चालन गरेका छन् । उनको व्यबसाय दिन, महिना, बर्ष हुदै बढ्दै बढ्दै गयो । उनीजस्तै अरु तीन जना मिलेर गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा फेरि अर्को फर्म सञ्चालन गरे । मनकामना कृषि तथा पशुपंक्षी फर्म नाममा दर्ता भएको सो फर्ममा ८७ लाख रुपैयाँ लगानी गरेर १० लाख वटा माछा, १५० वटा बङ्गुर र सातहजार वटा ब्रोइलर जातको कुखुरा पालन गरेका छन् । बिभिन्न चार वटा फर्म सञ्चालन गरेको आठ बर्षे अनुभव छ उनीसंग । चारवटा कृषि तथा पशु फर्मले पनि उनको मन बाँध्न सकेन । हालसालै उनले अर्को ठूलो फर्म सुरु गरेका छन् ।
कृषि विकास वैंकबाट दुई करोड ७० लाख रुपैयाँ ऋण लिएर गोरखा नगरपालिका ८ लुदीखोला फाँटमा २६ रोपनी जग्गा किने । आफूसंग भएको करिब डेढ करोड गरी करिब चार करोड रुपैयाँ खर्च गरेर खोर तथा अन्य पूर्वाधार संरचना बनाएका छन् । त्यहाँ २२ हजार वटा लेयर्स जातको कुखुरा पाल्न लम्बाइ २६० मिटर चौडाइ ३० मिटर भएको चार वटा खोर बनाए । अहिले त्यहाँ अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पालन सुरु गरेका छन् । ४५ बर्षका परशुराम अहिले पाँच वटा फर्मका मालिक बनेका छन् ।
कुखुरा व्यवसायी संघ गोरखाका अध्यक्ष पनि हुन् । भन्छन्, ‘म अब ठूलो फर्मको मालिक भएँ, अब मैले अरुलाई काम अह्राएर आफू मालिक बनेर हिड्नु पर्छ भन्ने मैले कहिल्यै सोच्दिन । मलाई अब पुग्यो, थाकेँ भन्ने अनुभूति पनि कहिल्यै लाग्दैन । म निरन्तर काम गरिरहन्छु । गरिरहनेछु ।’
विदेशले आफूलाई काम गर्न सिकाएको उनी बताउँछन् । ‘अहिले म जे छु, जहाँ छु, यो आठबर्षको बिदेश बसाइले बनाएको हो’, उनी भन्छन्, ‘विदेशमा गएपछि जसले पनि तीन महिनाभित्रै राम्रो पाठ सिक्छ । बास्तविक जीवन कसरी जिउने भन्ने विदेशमा सिकिने रहेछ । त्यहाँ कामको सम्मान हुन्छ । को ठूलो, को सानो, सबैले काम गरेको देखिन्छ काम गरेर खानु पर्ने रहेछ भन्ने सिकिन्छ । त्यसैले विदेश गएर आएको मान्छेले व्यबसाय चलाएको उदाहरण धेरै देख्न पाइन्छ ।’
नेपालमा गाउँघरमा चिया भट्टीहरुमा देशविदेशका, राज नीतिक वा बिभिन्न बिषयको गफ हाँकेर बस्नेदेखि दिक्क लाग्ने उनी बताउँछन् । ‘यहाँ सुतेर, बसेर, चोक, चौतारामा, भट्टीमा गफ गरेर, तास वा क्यारेमबोर्ड खेलेर बस्नेहरु देखेर मलाई नमज्जा लाग्छ’, उनी भन्छन् ।




