
सरकारी अनुदान पाएका सुपथ मूल्यका सहकारी पसल डुबे
गाउँगाउँमा सहकारी, घरघरमा भकारी अबधारणाअनुसार २०६६ सालमा सञ्चालन भएका सुपथ मूल्यका सहकारी पसलहरु बन्द भएका छन् । सरकारबाट एकलाख रुपैयाँ अनुदान लिएर सञ्चालन भएका ६५ सहकारी पसलमध्य अहिले नौ वटा मात्रै जीवित रहेको उपभोक्ता सहकारी जिल्ला संघले जनाएको छ ।
‘बाबुराम भट्टराई प्रधानमन्त्री छँदा २०६६ सालमा गोरखामा ६५ वटा सहकारी पसल स्थापना भएका थिए’, जिल्ला संघका अध्यक्ष कृष्ण धौराली भन्छन्, ‘५५ वटा पसल जिल्ला संघमा आवद्ध भएका थिए । अहिले सबै डुबे । नौ वटा मात्र चलेका छन् ।’ चलेका नौ वटामध्य पनि अधिकांश ठेक्कामा चलेका उनले बताए । ‘बर्षभरिमा यति प्रतिशत सहकारीलाई दिने बोलकबोल गरी ठेक्कामा कसैलाई चलाउन दिइएका छन्’, उनले भने, ‘कतिपयचाहिँ बर्षमा एकफेर अडिट मात्र गरेर राखिएका पनि छन्’, धौराली भन्छन्, ‘कतिपयलाई त, अडिट खर्च जिल्ला संघले बेहोर्छ, अडिट गर्न आऊ भन्दा पनि आएका छैनन् ।’
सहकारीका सेयर सदस्यले उदारोमा सामान किन्ने तर कहिल्यै पनि रकम भुक्तानी नगरेका कारण पसल बन्द भएका सहकारी संघका कर्मचारी विष्णु बगाले बताउँछन् । ‘सहकारीका सेयर सदस्यले नै सामान लैजाने तर पैसा कहिल्यै पनि नबुझाउने गर्दा पसलहरु डुबेका हुन्’, उनले भने, ‘पसलमा काम गर्न राखेका ब्यबस्थापकको कमजोरीका कारण पनि पसल डुबेका छन् ।’ कतिपय सहकारी पसल भने स्थानीय व्यापारीसंग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएका उनले बताए । ‘व्यक्तिले आफ्नै घरमा पसल चलाएको हुन्छ, घर भाडा तिर्नुपर्दैन । पसलमा आफै खटिन्छ, कसैलाई तलब दिनु पर्दैन तर सहकारी पसलको भाडा पनि तिर्नुपर्ने, पसलमा बस्नेलाई तलब पनि दिनु पर्ने । एकदुई रुपैयाँ भएपनि सुपथ मूल्यमा पनि दिनुपर्ने गर्दा गाह्रो भएकाले पनि सहकारी पसल डुबेका हुन्’, उनले भने ।
सहकारीको मर्म र भावना नबुझेका र कुशल व्यवस्थापनको अभावमा सुपथ मूल्यका पसल बन्द भएको जिल्ला संघले जनाएको छ ।
अहिले जनमुखी उपभोक्ता सहकारीले गोरखा बजारमा सञ्चालन गरेको सहकारी पसल प्रतिष्पर्धा गरेर टिक्न सफल भएको छ । व्यवस्थापन पक्ष सबल भएकाले सहकारी सुपथ मूल्यको पसल टिकाएको सो सहकारीका रामबाबु श्रेष्ठले बताए ।
शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादी नेता कार्यकर्ताहरुले जिल्लाको एक नगरपालिका र ६४ गाविसमा सरकारी अनुदान लिएर सुपथ मूल्यको पसल स्थापना गरेका थिए । आँबुखैरेनी, गोरखा बजार र आर्खेत बजारमा डिपो सञ्चालन गरेको र सामान ढुवानी गर्न टूक पनि किनेको जिल्ला अध्यक्ष कृष्ण धौराली बताउँछन् । ‘पसल खुलेको एक डेढबर्षपछि पसलहरु बन्द हुने थाले । गाडी पनि बिग्रिएर थन्कियो’, उनले भने, ‘खैरेनी र गोरखा बजारको डिपो खैरेनीमा सारेर मर्ज गरियो । आर्खेतको डिपो बन्द भयो ।’ जिल्ला संघले छेपेटारमा २२ रोपनी जग्गामा सात वटा माछापोखरी सञ्चालन गरिरहेको उनले बताए ।
मिरकोटको शहीद दिदी उपभोक्ता सहकारी, पालुङ्टारको पालुङ्टार उपभोक्ता सहकारी, खोप्लाङको नमूना उपभोक्ता सहकारी, चुम्चेतको गणेशहिमाल उपभोक्ता सहकारी, भुक्लिचोकको जनप्रगतिशील उपभोक्ता सहकारी, सिम्जुङको जनस्वाभिमानी उपभोक्ता सहकारी, घ्याल्चोकको हिमाली सामुदायिक उपभोक्ता सहकारी र मुच्चोकको चतुर्माला उपभोक्ता सहकारीले पनि बार्षिक रुपमा अडिट गराइरहेको सञ्चालनमा रहेको जिल्ला संघको तथ्याङ्कमा उल्लेख छ । ती पसलहरु प्राय ठेक्कामा चलेका संघले जनाएको छ ।




